२०८३ साउन २१ गते बिहीबार

पोखरामा खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप आयोजना हुने

पोखरामा खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप आयोजना हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन ३० गते शनिबार १२:४०

कोभिड–१९ महामारी तथा विभिन्न प्रशासनिक र प्राविधिक कारणले विगत पाँच वर्षदेखि सञ्चालन हुन नसकेको २१औँ संस्करणको नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप आगामी चैत ५ देखि ७ गतेसम्म पोखरामा आयोजना हुन लागेको हो ।

पोखरा ।

पोखरामा पाँच वर्षपछि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप आयोजना हुने भएको छ ।

कोभिड–१९ महामारी तथा विभिन्न प्रशासनिक र प्राविधिक कारणले विगत पाँच वर्षदेखि सञ्चालन हुन नसकेको २१औँ संस्करणको नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप आगामी चैत ५ देखि ७ गतेसम्म पोखरामा आयोजना हुन लागेको हो ।

नेपाल हवाई खेलकुद संस्था (ना) का अनुसार प्रतियोगिताका लागि नेपालसहित हालसम्म आठ देशका ८७ जना प्याराग्लाइडिङ पाइलटहरूले अनलाइनमार्फत नाम दर्ता गराएका छन् ।

प्रतियोगिताका संयोजक सुनिल भट्टराईका अनुसार भारत, चीन, साउदी अरेबिया, उज्बेकिस्तान, इटली र लेबनानका पाइलटहरूले सहभागिताका लागि दर्ता गराएका छन् ।

यसपटक प्रतियोगिता ‘एक्युरेसी’ विधामा सञ्चालन गरिनेछ । प्रतियोगिताको टेकअफ स्थल सराङकोट रहनेछ भने खपौदी क्षेत्रमा ल्याण्डिङ गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित निकायबाट अनुमति नपाएमा तोरपानीबाट टेकअफ गरी हर्पन वा भकुण्डे क्षेत्रमा ल्याण्डिङ गर्ने वैकल्पिक योजना पनि बनाइएको छ ।  प्रतियोगितामा व्यक्तिगत तथा टिम दुवै विधामा प्रतिस्पर्धा हुनेछ ।

व्यक्तिगत र टिमतर्फका विजेताले समान १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख रुपैयाँ र तेस्रो हुनेले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

पोखरामा हाल ६० भन्दा बढी कम्पनीमार्फत प्याराग्लाइडिङ व्यवसाय सञ्चालन भइरहेका छन् । करिब ३ सय ६६ जना टेण्डम पाइलट र करिब १ सय ४० जना सोलो पाइलट सक्रिय रहेको बताइन्छ ।

प्रतियोगिताले पोखराको खेल पर्यटन प्रवद्र्धन गर्नुका साथै आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति २०८२ फागुन ३० गते शनिबार १२:४०
हजुरको प्रतिक्रिया