२०८३ साउन २१ गते बिहीबार

पोखरामा निर्माणाधीन सेती पुलअन्तर्गत तल्लो पुलको माथिल्लो गर्डरको ढलान

पोखरामा निर्माणाधीन सेती पुलअन्तर्गत तल्लो पुलको माथिल्लो गर्डरको ढलान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन ३० गते शनिबार १२:५१

भ्याटसहित कुल १ अर्ब ७ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको पुलमा हालको पुरानो पुलको दायाँ र बायाँतर्फ (अपस्ट्रिम र डाउनस्ट्रिम) १९० मिटर लम्बाइका दुईवटा छुट्टाछुट्टै पुल निर्माण भइरहेका छन् ।

पोखरा ।

मुग्लिङ–पोखरा सडक विस्तार योजना अन्तर्गत पोखरामा निर्माणाधीन अत्याधुनिक प्रविधिको सेती पुलको निर्माण कार्य जारी छ ।

हिजोदेखि तल्लो पुलको माथिल्लो गडरको ढलान जारी रहेको छ । उक्त गर्डरको ढलान आज साँझ सम्म सकिने बताएको छ ।

एशियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण भइरहेको यो पुल नेपालकै पहिलो ‘एक्स्ट्रा डोज केबल स्टे’ प्रविधिमा आधारित नमूना पुल हो ।

पोखरा विमानस्थलको उडान सुरक्षालाई ध्यानमा राख्दै पुलको टावरको उचाइ १२ मिटर मात्र राखिएको छ ।

सामान्यतया यस्ता पुलका टावर २० देखि ३० मिटर अग्ला हुने भए पनि उचाइको सीमा भएकाले ‘एक्स्ट्रा डोज’ प्रविधि प्रयोग गरिएको हो ।

भ्याटसहित कुल १ अर्ब ७ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको पुलमा हालको पुरानो पुलको दायाँ र बायाँतर्फ (अपस्ट्रिम र डाउनस्ट्रिम) १९० मिटर लम्बाइका दुईवटा छुट्टाछुट्टै पुल निर्माण भइरहेका छन् ।

पुलको संरचनामा गर्डरले मात्र भार धान्न नसक्ने भएकाले माथिबाट केबल राखिएको छ, जसअनुसार एउटा गर्डरमा ११ वटा केबल पाइप जोडिनेछन् ।

पुलको एकतर्फ ३ मिटर फराकिलो फुटपाथ रहनेछ । साथै खानेपानी तथा विद्युत् प्राधिकरणका तार व्यवस्थापनका लागि ‘युटिलिटी डक्ट’ को समेत व्यवस्था गरिएको छ ।

वि.सं. २०८३ वैशाख २१ गतेसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि मुआब्जा विवादलगायतका चुनौतीका कारण तोकिएको समयमै काम सम्पन्न नहुने भएको छ ।

प्रकाशित मिति २०८२ फागुन ३० गते शनिबार १२:५१
हजुरको प्रतिक्रिया