२०८३ साउन २१ गते बिहीबार

वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा

वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन ३० गते शनिबार ०२:१२

उनले भने, ‘यदि हामीले वैधानिक च्यानलबाट आउने २० खर्बको १० प्रतिशत मात्रै पनि सामूहिक लगानीमार्फत जम्मा गर्न सक्यौं भने २ खर्बको पुँजी निर्माण हुन्छ । त्यो पुँजीले देशमा धेरै ठूला आयोजनाहरू सम्पन्न गर्न सकिन्छ । श्रमिकहरूको लगानी भोलि पेन्सनको रूपमा वचत गर्न अब ढिलो भइसकेको छ ।’

पोखरा ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण (रेमिट्यान्स) लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा लगाउनुपर्नेमा जोड दिएका छन् ।

एनआरएनएको १२ औं ग्लोवल कन्फरेन्सलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष शर्माले श्रमिकले पठाएको पैसाको ठूलो हिस्सा उपभोग्य क्षेत्रमा खर्च भइरहेको भन्दै त्यसलाई पुँजी निर्माणमा जोड्न सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।

शर्माले वार्षिक करिव २० खर्ब रुपैयाँ रेमिट्यान्स आउने गरेको र त्यसको करिव ७० प्रतिशत हिस्सा उपभोग्य क्षेत्रमा खर्च भइरहेको बताए ।

शर्माले एनआरएनएले ५ वर्षअघि अघि बढाएको १० अर्बको लगानी कोष अझै कार्यान्वयनमा नआएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

महिनाको १० हजार रुपैयाँ लगानी गर्न चाहने श्रमिकहरूलाई कोषमा आवद्ध गराउने भनिए पनि काम अघि नबढ्दा श्रमिकलाई ढाँटेको जस्तो भान हुन थालेको भन्दै उनले सरकारले यसलाई तत्काल सम्बोधन गर्नुपर्ने माग गरे ।

उनले ऊर्जा क्षेत्रमा लगानीको आवश्यकता औंल्याउँदै ३ हजार मेगावाट बिजुली मात्र उत्पादन गर्नसके ८० अर्बको कुकिङ ग्यास आयात घटाउन सकिने र ८ देखि १० हजार मेगावाटले इन्धन आयात ८० प्रतिशतले प्रतिस्थापन गर्न सकिने बताए ।

उनले भने, ‘यदि हामीले वैधानिक च्यानलबाट आउने २० खर्बको १० प्रतिशत मात्रै पनि सामूहिक लगानीमार्फत जम्मा गर्न सक्यौं भने २ खर्बको पुँजी निर्माण हुन्छ । त्यो पुँजीले देशमा धेरै ठूला आयोजनाहरू सम्पन्न गर्न सकिन्छ । श्रमिकहरूको लगानी भोलि पेन्सनको रूपमा वचत गर्न अब ढिलो भइसकेको छ ।’

मध्यपूर्वको पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै शर्माले त्यहाँ रहेका करिव २० लाख नेपाली श्रमिकको रोजगारी गुमेमा नेपालको स्थिति डरलाग्दो हुने चेतावनी दिए । एनआरएनए सामान्य श्रमिकदेखि अर्बपतिसम्मको साझा चौतारी हुनुपर्ने बताए ।

नेपाल आफैँमा स्वर्ग जस्तो रहेको बताउँदै शर्माले विदेशमा सिकेको ज्ञान, सिप र पुँजी देशमै परिचालन गर्नुपर्ने बेला आएको जिकिर गरे ।

प्रकाशित मिति २०८२ फागुन ३० गते शनिबार ०२:१२
हजुरको प्रतिक्रिया