२०८३ असोज २४ गते शनिबार

पुष्करिणी परोपकार गोकुलधाम बाच्छीबुडुवामा महायज्ञ आयोजना

पुष्करिणी परोपकार गोकुलधाम बाच्छीबुडुवामा महायज्ञ आयोजना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत १ गते आइतबार ०१:१७

पोखरा । पोखराको सडकमा छाडिएका गाई–वस्तुको संरक्षण तथा सडक दुर्घटना न्यूनीकरणमा काम गर्दै आएको पुष्करिणी परोपकार गोकुलधामले तेस्रो वार्षिकोत्सवको अवसरमा श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका–१४...

पोखरा ।

पोखराको सडकमा छाडिएका गाई–वस्तुको संरक्षण तथा सडक दुर्घटना न्यूनीकरणमा काम गर्दै आएको पुष्करिणी परोपकार गोकुलधामले तेस्रो वार्षिकोत्सवको अवसरमा श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ ।

पोखरा महानगरपालिका–१४ बाच्छीबुडुवामा रहेको गोकुलधाम परिसरमा चैत २ गतेदेखि महायज्ञ सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

महायज्ञमार्फत सङ्कलित सहयोग र दान रकम गौशालामा रहेका गाई–वस्तुको संरक्षण, पालनपोषण तथा गोकुलधामको पूर्वाधार विकासमा खर्च गरिने अध्यक्ष भागवत भाष्कर कमलनयन गौतमले जानकारी दिए ।

पोखरा महानगरपालिकाको सहयोग र राष्ट्रिय परोपकार महासंघ नेपालको व्यवस्थापनमा सञ्चालन हुँदै आएको गोकुलधामले तीन वर्षदेखि सडकमा वेवारिसे छाडिएका वृद्व, रोगी र अशक्त गाईहरूको उद्धार, आश्रय, उपचार, स्याहार तथा आहारको व्यवस्था गर्दै आएको गौतमले बताए ।

हाल गोकुलधाममा करिब ३ सय १५ वटा गाई, गोरु तथा बाच्छा–बाच्छी रहेका छन्। गौतमका अनुसार गोकुलधामबाट दैनिक करिब ६० देखि ७० लिटर दूध उत्पादन हुँदै आएको छ ।

करिब २ सय रोपनी क्षेत्रफलमा फैलिएको यस परियोजनाले गाईको गोबर र गहुँत प्रयोग गरी अर्गानिक मल, गड्यौला मल तथा जैविक खेतीको प्रक्रिया पनि सुरु गरेको उनले जानकारी दिए ।

गोकुलधाम स्थापना भएपछि कास्की जिल्लाका विभिन्न क्षेत्रमा सडकमा छाडिएका गाई–वस्तुका कारण हुने दुर्घटना उल्लेख्य रूपमा घटेको आयोजकको दाबी छ ।

यसअघि हरेक वर्ष ४–५ जनासम्म मानिस सडक दुर्घटनामा ज्यान गुमाउने गरेको जिल्ला ट्राफिक कार्यालयको तथ्यांक रहेको भए पनि गोकुलधाम सञ्चालनपछि यस्ता घटनामा उल्लेख्य कमी आएको गौतमको दाबी छ ।

प्रकाशित मिति २०८२ चैत १ गते आइतबार ०१:१७
हजुरको प्रतिक्रिया