पोखरा ।
होटल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक शाहले मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन् ।
पर्यटन क्षेत्रले देशको आर्थिक गतिविधिमा ठूलो योगदान दिन सक्ने भएपनि अहिले स्पष्ट मार्गचित्र नभएको उनले बताए ।
अध्यक्ष शाहले आगामी ५ वर्षका लागि बन्न लागेको सरकारले एउटा ठोस योजना ल्याउनुपर्ने र सोही आधारमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए ।
शाहले आगामी ५ वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितको योजना बनाउन सरकारलाई सुझाव दिएका छन् ।
उक्त लक्ष्य प्राप्तिका लागि आवश्यक नीति, ऐन र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष शाहले भने– ‘सबैभन्दा पहिला पाँच वर्षको मार्गचित्र बनाउन जरुरी छ । पर्यटक आगमनबाट धेरै हामीले लाभ लिनसक्छौँ । अझ हामी के भन्छौँ भने ५ वर्षमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित योजना बनाउनुपर्छ । त्यो नीतिलाई पुरा गर्ने कार्यक्रम, ऐन कार्यक्रमहरुदेखि पूर्वाधार बनाउनुपर्छ ।’
पर्यटक आकर्षणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको शाहले बताए । उनकाअनुसार निजी क्षेत्र अहिले पनि प्रवद्र्धनका कार्यमा सक्रिय रहेको छ । सरकारले निजी क्षेत्रको भुमिका र कार्यका बारेमा स्पष्ट नीति ल्याएमा निजी क्षेत्र थप ऊर्जाका साथ काम गर्न तयार रहेको उनले बताए ।
प्रकाशित मिति २०८२ चैत ५ गते बिहीबार १२:१२




