पोखरा ।
मिथिलाञ्चलमा आज चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदैछ ।
गत आईतवारदेखि शुरु भएको चैती छठ पर्वको तेश्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न लागिएको हो ।
बुधवार बिहानै उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै पर्वको समापन हुनेछ । कार्तिक महिनामा मनाईने छठ पर्व जतिको संख्यमा श्रद्धालु भक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या पनि बढ्दै गइरहेको छ ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ । खरनाको अवसरमा व्रतालुहरुले निराहार उपवास बसि साँझपख षष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् ।
प्रसादमा खीर ,केरा, दुध एवं विभिन्न प्रकारको फलफूल चढाइने गरिन्छ ।
पर्वको दोश्रो दिन अस्ताउदो सूर्यलाई अघ्र्य दिन व्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् ।
त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्वदेखि नै व्रतालुहरु पोखरीमा प्रवेश गरी षष्ठी माताको ध्यान गर्दै सूर्य देवलाई अघ्र्य दिने गर्दछन् ।
अर्घ्यमा मुला, उखु,भण्टा, ठकुवा, भुसवा,केरा,नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ । सन्ध्या अघ्र्य पश्चात रातभर व्रतालुहरु जागरम बसेर भोलीपल्ट चैत्र शुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गर्ने परम्परा रहेको छ ।
चैती छठका लागि जनकपुरधामको गंगासागर, धनुषसागर, अरगज्जा सर लगायतका पोखरीका साथै गाउँगाउँमा श्रद्धालु भक्तजनहरु चैती छठ पर्व मनाउँदैछन् ।
प्रकाशित मिति २०८२ चैत १० गते मंगलबार १२:४१




