पोखरा ।
मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ ।
मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबिच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीय सिजनमै पोखरामा पर्यटक आगमन घट्दै गएको सरोकारवालाहरुले बताएका छन् ।
खासगरी युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुबई, कतार र साउदी अरेबिया युद्ध प्रभावित हुँदा पर्यटक आगमन प्रभावित भएको उनीहरुको भनाइ छ ।
पोखरा आउने पर्यटकहरुले धमाधम होटल, ट्राभल र टे«किङ बुकिङ रद्ध गरिरहेको पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले बताए । उनले मध्यपूर्वको तनावका कारण युरोप र अमेरिकाबाट आउने पर्यटकहरु आउन नसकेको बताए ।
युद्ध लम्बिँदा व्यवसायी समेत समस्या उनको गुनासो छ ।
होटल एशोसिएशन पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो ठूलो सिजनमा समेत अपेक्षाकृत पर्यटकहरु नआएको बताए । उनले मध्यपूर्वमा जारी युद्धका कारण विदेशी पर्यटक नेपाल भित्रिन नसकेको बताए । अमेरिकाले अतिआवश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको एड्भाइजरीका कारण पर्यटक आगमन खस्केको उनको भनाइ छ ।
पर्यटक व्यवसायी नेत्र पौडेलले इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण पोखरामा पर्यटकीय गतिविधिका लागि हुने अग्रिम बुकिङहरु रद्ध भइरहेको बताए ।
दोस्रो मुख्य पर्यटकीय सिजनमै अपेक्षाकृत पर्यटक आगमन नहुनुको मुख्य कारण मध्यपूर्वमा जारी द्वन्द्व रहेको उनको बुझाइ छ ।
कोरोना भाइरसको महामामरीपछि विस्तारै लयमा फर्किंदै गएको नेपालको पर्यटन व्यवसाय मध्यपूर्वमा बढ्दो तनावले फेरि प्रभावित हुने देखिएको छ ।
प्रकाशित मिति २०८२ चैत १० गते मंगलबार १२:२०




