पोखरा ।
शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको खेलकुद क्षेत्रको विकासका लागि खेलकुदलाई विद्यालयको पाठ्यक्रममै समावेश गर्ने योजना अघि सारेका छन् ।
मंगलवार राष्ट्रिय खेलकुद परिषद्मा निरीक्षणका लागि पुग्नुभएका मन्त्री पोखरेलले सो घोषणा गरेका हुन् । मन्त्री पोखरेलले अबको ५ वर्षमा ग्रासरुटबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताए । मन्त्री पोखरेलले नेपालको खेलकुद क्षेत्रमा अहिले देखिएको मुख्य समस्या सानो उमेरबाटै खेलाडी उत्पादन हुन नसक्नु रहेको औँल्याए । काठमाडौं महानगरपालिकामा रहँदा शुरु गरिएको ‘रचनात्मक विद्यालय’ कार्यक्रमको अनुभव सुनाउँदै मन्त्री पोखरेलले अब नीतिगत र कानूनी रूपमै खेलकुदलाई शिक्षासँग जोड्ने प्रतिवद्धता व्यक्त गरे ।
मन्त्री पोखरेलले खेलले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा पनि ठूलो भुमिका खेल्ने बताए । आफूलाई मन्त्री वा अध्यक्ष भन्दा पनि एक ‘टिम मेम्बर’ को रूपमा मात्र हेर्न आग्रह गर्दै पोखरेलले सबै विज्ञ र कर्मचारीहरूलाई पूर्वाग्रह त्यागेर एकजुट हुन आह्वान गरे । मन्त्री पोखरेलले आगामी ५ वर्ष खेल क्षेत्रलाई ग्रासरुटसँग जोडेर दीर्घकालीन विकास गर्ने आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पारे ।
प्रकाशित मिति २०८२ चैत १७ गते मंगलबार ०३:०९




