पोखरा ।
भन्सार विभागले आगामी आर्थिक वर्ष २०८३/८४ देखि सातौँ भन्सार सुधार योजना बनाएर कार्यान्वयनमा ल्याउने भएको छ ।
चालु आर्थिक वर्षमा छैटौँ पञ्चवर्षीय भन्सार सुधार योजना सम्पन्न हुन लागेकाले विभागले नयाँ रणनीतिक योजनाको तयारी थालेको हो ।
उद्योगी तथा व्यवसायीहरूसँगको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले नयाँ भन्सार योजना बनाउने काम चलिरहेको बताए ।
उनकाअनुसार आगामी योजनाको मुख्य लक्ष्य ‘उत्पादनमुखी अर्थतन्त्र’ निर्माणमा केन्द्रित हुनेछ ।
महानिर्देशक भण्डारीकाअनुसार सातौँ सुधार योजनाले भन्सारका दरहरूको पुनरावलोकन र व्यापार सहजीकरणलाई प्राथमिकता दिनेछ ।
नयाँ योजना र आगामी बजेटको तयारी भइरहेको बेला विभागले निजी क्षेत्रबाट ठोस सुझावको अपेक्षा गरेको छ ।
भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा रहेको राजश्व परामर्श समिति अन्तर्गतको उपसमितिले यसबारे काम गरिरहेको जानकारी दिँदै भण्डारीले शुक्रबार बस्ने उपसमितिको बैठकअघि नै सुझाव उपलब्ध गराउन आग्रह गरे ।
प्रकाशित मिति २०८२ चैत २६ गते बिहीबार ०१:११




