पोखरा ।
दोस्रो पोखरा ओपन एथलेटिक्स् मिट तथा यू–२० राष्ट्रिय एथलेटिक्स् च्याम्पियनसिपको आयोजना हुने भएको छ ।
उक्त च्याम्पियनसिप कास्की जिल्ला एथलेटिक्स् संघको आयोजनामा पोखरा रंगशालामा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

नेपाल एथलेटिक्स संघको समन्वयमा यही चैत्र २८ गतेदेखि ३० गतेसम्म आयोजना हुने प्रतियोगिताका सम्पूर्ण तयारी पुरा भएको संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार सो प्रतियोगितामा कुल ४ सय ६६ खेलाडी सहभागी हुनेछन् ।
उनले भने, ‘पोखरा ओपनतर्फ महिला र पुरुष गरी कुल ३ सय १२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्, यू–२० राष्ट्रिय च्याम्पियनसिपतर्फ १ सय ५४ खेलाडी भिड्नेछन् ।’

दोस्रो पोखरा ओपन एथलेटिक्स् मिटमा सातै प्रदेश र नेपालका विभागीय क्लबहरूको सहभागिता रहनेछ । त्यस्तै, यू–२० च्याम्पियनसिपमा सातै प्रदेशबाट छनोट भएर आएका खेलाडीहरू प्रतिस्पर्धमा उत्रनेछन् ।
प्रतियोगितामा पोखरा ओपनतर्फ ३० इभेन्ट तथा यू–२० च्याम्पियनसिपतर्फ २४ इभेन्ट समावेश गरिएका छन् । पोखरा ओपनका हरेक इभेन्टमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।
यस्तै यू–२० तर्फ विजेतालाई क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाल एथलेटिक्स् संघ, रेडबुल इनर्जी पार्टनर, योर्स ट्रेनिङ र ग्याट्स ट्रेनिङ सेन्टर तथा कफी डे हिमालय एशोसियट प्रायोजनका रूपमा रहेका छन् ।
यस्तै न्यूट्रिसियन पार्टनरमा सफल दुध, इन्सुरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्सुरेन्स, बैंक बैंकिङ पार्टनरमा ग्रिन डेभलपमेन्ट तथा हाइड्रेशन पार्टनरका रूपमा सोल्टी पिउने पानी रहेका छन् ।
प्रकाशित मिति २०८२ चैत २६ गते बिहीबार ०२:४५




