पोखरा ।
सरकारले अत्याधिक गर्मीले निम्त्याउने विपद् व्यवस्थापनसम्बन्धि कार्ययोजना, २०८३ को मस्यौदामाथि छलफल शुरु गरेको छ ।
बिहीबार राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको आह्वानमा सो कार्ययोजनाको मस्यौदामाथि सरोकारवाला निकायहरुसँग छलफल गरिएको हो ।
छलफलमा सो विपद् व्यवस्थापनका लागि स्थानीय सरकारसँगको सहकार्यमा जोड दिने नीतिलाई अवलम्वन गरेर अघि बढ्नुपर्ने सुझाव प्राप्त भएको सो प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिए ।
उनले स्थानीय तहले त्यस्ता खालको विपद् व्यवस्थापनका लागि विद्यालय तहमा पठनपाठनको व्यवस्था गराउनुपर्नेमा पनि जोड दिइएको बताए ।
कार्यकारी प्रमुख भट्टले भने, ‘गर्मी बढि भएमा विद्यालयहरु नै बन्द गर्नुप¥यो, अन्य अवस्थामा पनि विपद् नहुने गरी स्थानीय सरकारले विद्यालय सञ्चालन गर्न पाउने अधिकारको उपयोग हुने गरी कार्ययोजना तय गरिनुपर्दछ । स्काउटका साथीहरु पनि जोडिनुभएको छ । पहिला उहाँहरुको सहभागिता कम थियो । अब धेरै हुनेवाला छ । स्काउट सँगै विपद व्यवस्थापनमा करिव २ लाख भोलियन्टियर्स पनि थपिएका छन । त्यसले पनि विपद व्यवस्थापनमा तत्काल काम गर्न सहज हुन्छ ।’
कार्ययोजनामा विपद व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने कुरामा जोड दिनुपर्नेमा पनि सहभागीहरुले जोड दिएका छन्
प्रकाशित मिति २०८३ वैशाख १० गते बिहीबार ०६:१८




