पोखरा ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री गीता चौधरीले वर्षे रोपाईँसम्मका लागि रासायनिक मलको समस्या नहुने बताएकी छिन् ।
शुक्रबार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले वर्षाको रोपाईंसम्मका लागि रासायनिक मलको भण्डारण रहेको बताएकी हुन् ।
मन्त्री चौधरीले सरकारले माटो बिग्रन नदिनका लागि जैविक तथा प्राङ्गारिक मलको व्यवस्थापनमा जोड दिने नीति लिएको पनि स्पष्ट पारिन् ।
उनले किसानलाई अनुदान दिने तथा बीउ विजनको उचित व्यवस्थापनका लागि सरकारले सुक्ष्म अध्ययन गरिरहेको पनि बताइन् ।
वास्तविक किसानलाई अनुदान सहायता उपलब्ध गराउने गरी सरकारले सो काम गर्नुं परेको मन्त्री चौधरीको भनाई थियो ।
उनले भनिन्,‘रासायनिक मल एकदमै धेरै समस्याग्रस्त अवस्थामा छ भन्ने कुरा देखाइराख्नुभएको छ । हामी यसमा एकदमै धेरै सिरियस्ली लागि राखेका छौँ । प्रत्येक दिन जसो हाम्रो रासायनिक मलको कुरा भइराखेको छ । अहिले रोपाईँ सम्मको लागि हामीसँग मल उपलब्ध छ । हामीले रोपाईं पछिका लागि मल राख्ने प्रयासमा छौँ । अर्को जैविक तथा प्राङ्गारिक कुरामा चाहीँ सरकारले सय बुदे सुदृढीकरणको कुरा ल्याएको छ । त्यसमा पनि मलका कुराहरु त्यसमा परेको अवस्था छ । त्यसमा पनि हामी कही नीतिगत कुराहरुमा काम गरिराखेका छौँ । जैविक तथा प्राङ्गारिक मललाई कसरी महत्व दिन सकिन्छ त ? अर्को कुरा स्वयल हेल्ड कार्डको कुरा छ । स्वयललाई सुधार गर्नका लागि जैविक तथा प्राङगारिक मलले नै महत्वपूर्ण भूमिका खेल्छ । वीउ विजनको आपूर्तिको कुराहरु, किसानहरुलाई प्रोत्साहन गर्ने कुराहरुमा विगतमा दिनमा जसरी भयो । त्यसका सुधारका लागि हामीले सुक्ष्म अध्ययन गरिराखेका छौँ । तर यस वर्षको समस्या समाधान गर्नका लागि हामी त्यसमा काम गरिनै राखेका छौँ ।’
मन्त्री चौधरीले सरकारले उन्नतस्तरको बीउविजनको आवश्यक व्यवस्था मिलाउने प्रयास पनि गरिरहेको बताइन् ।
प्रकाशित मिति २०८३ वैशाख ११ गते शुक्रबार ०३:४९




