पोखरा ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारले बजेट अधिवेशन बोलाउनुपर्ने समयमा पाँचवटा अध्यादेश सिफारिस गरेर झन्डै दुई तिहाई जनमतको अपमान गरेको आरोप लगाएका छन् ।
बुधबार विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यस्तो आरोप लगाएका हुन् ।
उनले संसदमार्फत एक हप्तादेखि १० दिनभित्रै विधेयक पारित गर्नसक्ने बहुमत हुँदाहुँदै अध्यादेशमार्फत शासन गर्न खोज्नु असंवैधानिक भएको बताए ।
उनले सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्र मिच्दै अध्यादेशमार्फत ऐन बनाउन खोजेको भन्दै यसलाई संसदीय प्रणालीमाथिको हस्तक्षेपको रूपमा टिप्पणी पनि गरे ।
उनले भने, ‘संसदको बजेट अधिवेशनजस्तो महत्वपूर्ण अधिवेशन बोलाउनुपर्ने बेलामा पाँच पाँच वटा अध्यादेश ल्याएर सरकारले जनमतको अपमान गर्न खोजिरहेको छ । उहाँहरुसँग त एक हप्तादेखि १० दिनभित्रमा विधेयक नै पारित गर्नसक्ने जनमत छ नि । त्यसको सदुपयोग पो गर्नुपर्यो त । त्यसकारण यो असंवैधानिक र जनमतको अपमान हो ।’
दुलालले जनमतको सदुपयोग गरी संसदमार्फत विधेयक पारित गरेर गर्नुपर्नेमा अध्यादेशको सहारा लिनु गलत भएको जिकिर गरे ।
प्रकाशित मिति २०८३ वैशाख १६ गते बुधबार ०४:३७




