पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सीमा क्षेत्रमा तस्करी व्यापक बनेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले कडाइ गरेको बताएका छन् ।
अहिले सीमा क्षेत्रमा तस्करी रोक्दा केही असन्तुष्टी देखिएपनि तस्करी नियन्त्रण गर्नैपर्ने अवस्थामा सरकारले कडाइ गर्नुपरेको उनले बताएका हुन् ।
आईतबार निजी क्षेत्रसँगको संवादमा उनको सीमा क्षेत्रमा बसोवास गर्ने नागरिकहरूको जीवनशैली नै वारिपारि आवतजावत गरेर सस्तो बजारबाट किनमेल गरी जीवन चलाउने रहेको भएपनि खुलमखुल्ला भइरहेको तस्करीलाई राज्यले टुलुटुलु हेरेर बस्न नसक्ने बताए ।
यद्यपी उपभोक्ताका दृष्टिकोणबाट सीमा क्षेत्र संवेदनशील रहेकाले अहिलेको कडाइलाई पुर्नर्विचार गर्ने तयारी भइरहेको उनले उल्लेख गरे ।
सभापति लामिछानेले भने ‘देश नै तस्करमय भएको छ भन्ने पनि प्रश्न आएको छ । त्यसलाई नियन्त्रण गर्दाखेरि अहिले अलिकति बोर्डर साइडमा केही असन्तुष्टीका स्वरहरु सुनिएको छ । एकातिर उपभोक्तका हिसाबले बोर्डर एरिया अलिकति ध्यान दिनुपर्ने ठाउँ के छ भने, बोर्डर एरियामा मान्छेको जीवनशैलीका रूपमा हामी वारिपारि गएर आफ्नो जीवन चलाउँछौँ, तुलनात्मक रूपमा त्यो सस्तो बजार छ । तर सँगसँगै वारि व्यवसायीहरू हुनुहुन्छ, उहाँहरूको व्यवसाय पनि फस्टाउन जरुरी छ, तुलनात्मक रूपमा त्यो उपभोक्ताका लागि महँगो पर्न जाने अवस्था हुन्छ । यो दुई वटै कुरालाई मध्यनजर गरेरै सरकारले नीतिहरु बनाउनुपर्ने हुन्छ । जनजीवन पनि प्रभावित नहोस् र हाम्रो प्राथमिकता हाम्रा उद्यमी,व्यापारी, व्यवसायीहरूको उन्नति हो, सँगसँगै हाम्रा उपभोक्ता, आम सर्वसाधारणको जनजीवनको सहजता पनि हो । यो दुइटाको बीचमा तालमेल हुनको लागि केही समय लाग्न सक्छ, यसलाई यहाँहरूले अन्यथा रूपमा नलिनुहोला ।’
सभापति लामिछानेलेसीमावर्ती क्षेत्रमा रहेका स्वदेशी व्यवसाय फस्टाउनुपर्ने आवश्यकता रहेको औल्याउँदै सस्तो विदेशी बजारका कारण उनीहरू प्रभावित हुने अवस्था रहेको बताए ।
प्रकाशित मिति २०८३ वैशाख २० गते आइतबार ०४:२१




