स्याङ्जा ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–१, मणिथुम्कामा अवस्थित शिवालय माध्यमिक विद्यालयको शैक्षिक स्तरोन्नति र स्थानीय धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि ‘श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ–२०८३’ सुरु भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच महायज्ञको समुद्घाटन गरिएको हो ।
महायज्ञको उद्घाटन गर्दै प्रमुख अतिथि सांसद धनन्जय रेग्मीले शिक्षा र धर्मको संगमले नै समाजलाई सही मार्गमा डो¥याउने बताए । उनले भने, “यो महायज्ञ केवल धार्मिक अनुष्ठान मात्र होइन, विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने र यस क्षेत्रका रामकोट, राम्चे देवी, कालिकाकोट जस्ता ऐतिहासिक सम्पदाहरूको प्रचार–प्रसार गर्ने एउटा महत्वपूर्ण कडी हो। सामुदायिक विद्यालयको उन्नतिका लागि स्थानीय स्तरबाट भएको यो प्रयासमा मेरो पूर्ण समर्थन र सहयोग रहनेछ।“
२८ गतेसम्म सञ्चालन हुने यस महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले प्रमुख कथा वाचकका रूपमा प्रवचन गर्नेछन् । महायज्ञमा चन्द्रप्रसाद बस्याल (ध्रुवशरण) संकल्पकर्ता तथा उपवाचकका रूपमा रहेका छन् । महायज्ञबाट संकलित रकम विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन र भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने आयोजक श्री महायज्ञ मूल समारोह समितिले जनाएको छ।
आज पहिलो दिन कलश यात्रासहित सुरु भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षक, विद्यार्थी तथा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद पराजुलीको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रमको सञ्चालन अभिभावक पृथ्वीनारायण शर्माले गरेका थिए । महायज्ञ अवधिभर श्रीमद्भागवत कथा श्रवणका साथै विभिन्न धार्मिक अनुष्ठानहरू सञ्चालन गरिनेछ ।
प्रकाशित मिति २०८३ वैशाख २१ गते सोमबार ०४:२३




