पोखरा ।
सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक तथा सचेतकहरुसँग छलफल गरेका छन् ।
सभामुख अर्यालले संसदको आउँदो अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक एवं सचेतकहरुसँग छलफल गरेका हुन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले संसदको कार्यप्रणालीलाई प्रभावकारी बनाउने छलफल भएको बताईन् ।
उनले संसदीय दलको प्रमुख सचेत तथा सचेतक चयन भएपछि सभामुखसँग पहिलो छलफल भएकोले बधाई तथा शुभकामना आदानप्रदान समेत भएको बताइन् ।
उनले भनिन्, ‘संसदमा हुने काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भयो र सभामुखज्यूसँग यसरी भेटघाट भएको थिएन । त्यसकारण सत्तारुढ दलसँगै प्रतिपक्षी दलहरुले समेत केही क्युरिसिटीहरु सभामुखसमक्ष राखेर छलफल सामान्य रुपमा नै गयो ।’
रास्वपाकै अर्का सचेतक प्रकाशचन्द्र परियारले संसदमा प्रतिनिधित्व गर्ने ६ वटै दलका सचेतक र प्रमुख सचेतकहरूसँग सभामुखले संसदको सञ्चालनको अवस्था र समस्याको बारेमा छलफल गर्नुभएको बताए ।
छलफलमा सभामुख अर्यालले संसदलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न दलहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेको पनि बताए ।
उनले भने ‘संसदमा सहभागि ६ वटै दलका मुख्य सचेतक र सचेतकहरुसँग सभामुखसँगको छलफल डाँक्नुभएको थियो । बैठकमा सभामुखले संसदको अहिलेको धरातलीय यर्थाथ, संसदले व्यहोर्नुपरेका समस्यालाई कसरी चिर्न सकिन्छ भनेर छलफल भयो । खास गरेर दलका सचेतक तथा प्रमुख सचेतकहरुले सभामुखसँगको समन्वय र सहकार्यमा के कसरी हाउसलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भयो ।’
नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले सभामुखसँगको छलफलमा संसद छिटोभन्दा छिटो सञ्चालन गर्न पहलकदमी लिन आफूहरुले आग्रह गरेको बताईन् ।
उनले छलफलको कुनै ठोस एजेण्डा नभएपनि सभामुख अर्यालले संसदको प्रभावकारिता पाउन विपक्षी दलहरुसँग सहकार्य र समन्वयको अपेक्षा गरेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘संसदको काम कारबाही अगाडि बढाउँदै गर्दा सभमुखले हामीसँग सहकार्यको अपेक्षा गर्नुभएको छ । बैठकमा खास कुनै एजेण्डा थिएन । सरकारको कामकारबाहीको विषयमा केही पनि छलफल भएन । सचेतकको कार्यालय सञ्चालन लगायतका सामान्य विषयमा छलफल भयो । हामीले संसद छिटो सञ्चालन गरौँ भनेर भनेका छौँ । सभामुखज्यूले भोलितिर जानकारी आउँछ भन्नुभएको छ ।’
छलफल सभामुख अर्यालले संसदको बर्खे अधिवेशन छिट्टै आह्वान हुने विश्वास व्यक्त गरेको उनको भनाइ छ ।
प्रकाशित मिति २०८३ वैशाख २१ गते सोमबार ०४:५०




