काठमाडौँ । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपालको पुरुष टोलीले दोस्रो जित निकालेको छ ।
ढाकामा आइतबार भएको खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले दोस्रो जित निकालेको हो ।
नेपालले माल्दिभ्समाथि २७–२५, २५–१९ र २५–२३ को सेटमा जित निकालेको हो ।
खेलमा नेपालका मान बहादुर श्रेष्ठ प्लेयर अफ दि म्याच चुनिए ।
यस जितसँगै नेपालले ४ खेलमा ६ अंक जोडेको छ । नेपालको फाइनल पुग्ने सम्भावना कायम रहेको छ । माल्दिभ्स अंक विहीन रहेको छ ।
यस अघि पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–० को सेटमा पराजित भएको थियो ।
दोस्रो खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएको नेपालले तेस्रो खेलमा श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको थियो ।
महिलातर्फ नेपाल फाइनल पुगिसकेको छ ।
आइतबार उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
नेपालले अन्तिम खेल आज सोमबार किर्गिस्तानको सामना गर्दैछ । नेपाल र किर्गिस्तानबीचको खेल ११ः१४ बजे सुरु हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति २०७८ पुस १२ गते सोमबार १०:५०




