२०८३ असोज २३ गते शुक्रबार

काठमाडौंलाई सडक मानवमुक्त बनाउन तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’ सञ्चालन, पहिलो दिन ३६ जनाको उद्धार

काठमाडौंलाई सडक मानवमुक्त बनाउन तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’ सञ्चालन, पहिलो दिन ३६ जनाको उद्धार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख २३ गते बुधबार ०१:२२

अभियानको पहिलो दिन पशुपति क्षेत्रका विभिन्न स्थानबाट ३६ जना सडक सहयोगापेक्षीहरूको उद्धार गरिएको छ ।

काठमाडौं-     काठमाडौं महानगरपालिकालाई ‘सडक मानवमुक्त’ बनाउने अभियानअन्तर्गत पशुपति क्षेत्रको तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’ (होल्डिङ सेन्टर) सञ्चालनमा ल्याइएको छ ।

काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त पहलमा वैशाख २२ गतेदेखि वडा ८ स्थित तिलगंगामा उक्त सेन्टर सञ्चालन गरिएको हो ।

अभियानको पहिलो दिन पशुपति क्षेत्रका विभिन्न स्थानबाट ३६ जना सडक सहयोगापेक्षीहरूको उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये २८ जनालाई सेन्टरमा राखिएको छ भने केही व्यक्तिहरू सेन्टरको पर्खाल नाघेर भागेका थिए । उद्धार गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीलाई सोही दिन साँझसम्ममा परिवारसँग पुनर्मिलन गराइएको महानगरले जनाएको छ ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मंगलवार सेन्टरको स्थलगत निरीक्षण गर्दै पूर्वाधार, स्वास्थ्य सुविधा र व्यवस्थापनबारे जानकारी लिइन् । सो क्रममा उनले उद्धार गरिएका व्यक्तिहरूसँग कुराकानी गर्दै उनीहरूको पारिवारिक अवस्था र सडकमा आउनुपर्ने कारणबारे चासो राखिन् ।

कार्यवाहक प्रमुख डंगोलकाअनुसार सडकमा रहेका असहाय तथा अलपत्र नागरिकहरूको उचित व्यवस्थापनका लागि महानगरको टोली बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा खटिएको छ ।

विशेषगरी पशुपति लगायतका मठमन्दिर र सम्पदा क्षेत्रमा देखिएका समस्या समाधान गर्न पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा काम भइरहेको उनले जानकारी दिइन् ।

महानगरले सञ्चालनमा ल्याएको स्क्रिनिङ सेन्टरले सडकबाट उद्धार गरिएका व्यक्तिहरूको अवस्था वर्गीकरण गर्नेछ । पारिवारिक अवस्था भएका, असहाय, अशक्त र उपचारको आवश्यकता भएका व्यक्तिहरूलाई छुट्टाछुट्टै व्यवस्थापन गर्न यस केन्द्रले सहज बनाउने महानगरको विश्वास छ ।

महानगरपालिकाले सडकमा कोही पनि नागरिक भोकै बस्न नपरोस् र कसैले पनि सडकमा कष्टपूर्ण जीवन व्यतित गर्नु नपरोस् भन्ने उद्देश्यका साथ यो अभियान सञ्चालन गरेको हो ।

प्रकाशित मिति २०८३ वैशाख २३ गते बुधबार ०१:२२
हजुरको प्रतिक्रिया