पोखरा ।
नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले विगतका सरकारका असफलताबाट पाठ सिकेर अघि बढन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन् ।
बुधबार काठमाडौंको बबरमहलस्थित सडकमा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्री साह शक्तिशाली प्रधानमन्त्री रहेको उल्लेख गर्दै गल्ती गर्ने छुट नभएको पनि बताएका हुन् ।
उनले आफूले केपी ओलीलाई पनि शक्तिमा भएको बेला गल्ती नगर्न सुझाएपनि त्यसलाई बेवास्ता गर्दा अहिलेको नियति भोग्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री बालेनले पनि त्यसबाट पाठ सिकेर अघि नबढे सोही हालत व्यहोर्नुपर्ने अवस्था आउने चेतावनी दिए ।
कार्यवाहक अध्यक्ष भुसालले प्रधानमन्त्री साहलाई इतिहासलाई गिज्याउने खालको काम नगर्न पनि सचेत गराए ।
उनले भने,‘तपाई जति शक्तिशाली हुनुहुन्छ, यदि गल्ती गर्नुभयो भने धेरै चाँडो तपाईँमाथि संकटहरु आईपर्नेछ । म फेरि पनि दोहो¥याएर भन्छु–श्री बालेन्द्र साह नेतृत्वको सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको यो सरकार यो असफल हुँदा यसको मूल्य प्रतिपक्षका हिसावले कोही खुशी होलान् । तर यसको मूल्य सबैले तिर्नुपर्छ । यो डर हामी सबै नागरिकलाई छ । यस्तो मूल्य फेरि तिर्न नपरोस् । म सम्झिन्छु सम्भवतः २०७६ सालको सम्भवत भदौ वा असोजको कुरा हो । मैले कमरेड ओलीलाई भनेको थिएँ–राति ११÷१२ बजेको थियो । कमरेड ओली, तपाईंको व्यक्तित्व यो राष्ट्रको पँुजी हो । किनकी यस्तो व्यक्तित्वहरु जसको बन्छ, यो राष्टको पूँजी हुन्छ । यो धेरै ठूलो कुरा हो । राष्ट्रका लागि यो बलियो आधार हो । अझ पार्टीका लागि त यो ठूलो पूँजी हो । तर कमरेड ख्याल गर्नुस् तपाईंको व्यक्तित्व ओरालो लाग्दैछ है । मैले त्यो कुन बेलामा भनेको थिएँ भने जति बेला कमरेड ओली सबभन्दा लोकप्रिय हुनुहुन्थ्यो । त्यो बेला मैले कमरेड ओलीलाई भनेको थिएँ किनभने कमरेड ओलीको खुट्टा विस्तारै अन्त हिँडदै थिए । उहाँको खुट्टा देखिराखेका थिए मैले । उहाँको खुट्टा पछाडि फर्कन लागेको देखेपछि मैले उहाँलाई सचेत पारेका थिए । उहाँले अलिकति बेवास्ताको, अलिकति खिसीको भावमा मेरो कुरालाई उडाई दिनुभयो । म अहिलेपनि सम्झन्छु–कमरेड ओलीलाई यस्ता सल्लाहहरु मान्य भएन । र त्यसको मूल्य धेरै ठूलो भयो । यो ओलीजीको मात्रै होइन, संसारका जुनसुकै मानिस, जसका खुट्टा पछाडि फर्किन्छन् र उनीहरु पावरमा छन । तिनीहरुको नियति यस्तै हुन्छ । यो कुराबाट तपाईहरुले सिकिदिनुस् है । इतिहासलाई गिज्ज्याएर मात्रै तपाईँहरु सन्तोष नगर्नु होला । यसबाट सिक्नुहोला । हाम्रै असफलता थिए भने पनि म घनश्याम भुसालको असफलताबाट सिकेर बालेन सफल हुन्छन भने मेरो प्रयोग मेरो जिन्दगी सफल नै भएको ठान्नु पर्दछ । किनभने मैले मेरो सत्तामा आउने मेरो मुलुकको प्रधानमन्त्री, शासकलाई मेरो असफलताले उसलाई शिक्षा दिएको थियो भनेर गौरव गर्ने ठाउँ हुन्छ । यी कुराहरुलाई तपाईहरुले ख्याल गरिदिनु होला ।’
कार्यवाहक अध्यक्ष भुसालले जतिसुकै शक्तिशाली शासकले विगतबाट पाठ सिकेर अघि नबढे नागरिकले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउने तथ्य पनि स्मरण गराए ।
प्रकाशित मिति २०८३ वैशाख २३ गते बुधबार ०४:२३




