पोखरा ।
नेपाल उद्योग वाणिज्य महासंघका निःवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा निजी क्षेत्रको उत्थान र कानूनी अड्चन फुकाउन भएका पहलहरू ऐतिहासिक रहेको बताएका छन् ।
बुधबार महासंघको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा उनले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आएको सकारात्मक परिवर्तनलाई संस्थाको ठूलो उपलब्धि भएको बताएका हुन् ।
निःवर्तमान अध्यक्ष ढकालले वर्षौँदेखि थाती रहेका कानूनी परिवर्तनका मुद्दाहरूलाई आफ्नो कार्यकालमा तार्किक निष्कर्षमा पु¥याउन प्रयास गरिएको बताए ।
विशेषगरी वैदेशिक प्रत्यक्ष लगानी र आन्तरिक लगानी प्रवद्र्धन, व्यवसायिक गतिविधि विस्तारमा रहेका बाधा हटाउन महासंघले प्रभावकारी भुमिका खेलेको उनले बताए ।
निजी क्षेत्रका लागि वाधक मानिएको ‘कालो बजार ऐन’ र निजी क्षेत्रलाई ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ को दायरामा राख्ने जस्ता गम्भीर विषयहरूमा महासंघले सशक्त पैरवी गरेको उनको भनाइ छ ।
साथै, आन्तरिक पूँजी परिचालनमार्फत ठूला आयोजनाहरू अघि बढाउन सकिन्छ भन्ने आत्मविश्वास जगाउन पनि सफल भएको उनले दाबी गरे । ढकालले आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलताका रूपमा सरकारद्वारा स्वीकृत ‘निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति’ रहेको बताए ।
महासंघले तयार पारेको मस्यौदालाई वर्तमान सरकारले पहिलो क्याबिनेटबाटै हुबहु स्वामित्व लिएर पारित गर्नु निजी क्षेत्रको इतिहासमा महत्वपूर्ण मोड भएको उनले बताए ।
निःवर्तमान अध्यक्ष ढकालले भने–‘यो बीचमा जतिपनि हाम्रो निजी क्षेत्रका इस्युहरू छन्, तिनलाई निष्कर्षमा पु¥याइएको छ । चाहे वर्षौँदेखि रहेका कानून परिवर्तनका विषयहरू हुन्, चाहे व्यवसायिक गतिविधि बढाउने कुरा होस्, चाहे आन्तकिरक वा वैदेशिक प्रत्यक्ष लगानीलाई प्रवद्र्धन गर्ने विषय होस्, यी सबै क्षेत्रमा महत्वपूर्ण पहलहरू भएका छन् । व्यवसाय सञ्चालनमा बाधा पु¥याउने कालोबजार ऐन लगायतका विषयहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा निजी क्षेत्रलाई राख्ने विषय, वा घरेलु पुँजी परिचालन गरेर ठूला योजनाहरू सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिने प्रयास, यी सबै पक्षमा काम भएको छ । ४६ सालपछिदेखि निजी क्षेत्रमाथि हुँदै आएको आलोचना र नकारात्मक दृष्टिकोण, चाहे त्यो आम जनताको होस् वा सरकारको—त्यसलाई परिवर्तन गर्न उद्योग वाणिज्य महासंघले गरेको पहल आफैँमा ऐतिहासिक छ भन्ने कुरा म राख्न चाहन्छु । वर्तमान दुई–तिहाइको सरकारको पहिलो क्याबिनेट बैठकबाट “प्राइभेट सेक्टर प्रोटेक्सन एन्ड प्रमोशन स्टाटेजी’ पास गरेको छ । केही दिनअघि मात्र माननीय अर्थमन्त्रीज्युले पनि उक्त स्ट्राटेजीलाई विस्तृत रूपमा क्याबिनेटबाट पारित गरिएको जानकारी दिनुभयो । वास्तवमा, निजी क्षेत्रले नेपाल सरकारलाई बुझाएको ड्राफ्टलाई सरकारले हुबहु स्वीकार गरी स्वामित्व लिँदै अगाडि बढाएको छ । यो कदम उद्योग वाणिज्य महासंघको इतिहासमा निकै महत्वपूर्ण उपलब्धि हो । परम्परागत रूपमा महासंघ र सरकारबीच “माग्ने र दिने” सम्बन्ध रहँदै आएको थियो । कहिलेकाहीँ माग पूरा गराउन हड्ताल वा बन्दसम्म गर्नुपर्ने अवस्था थियो । तर हालको निर्णयले त्यो परम्परालाई तोड्दै नयाँ अध्याय शुरु गरेको छ । व्यक्तिगत रूपमा पनि मैले यस्तो उपलब्धि सम्भव होला भन्ने सोचेको थिइनँ । यो सबै सम्भव हुनुमा निरन्तर समर्पण र प्राथमिकता प्रमुख कारण हुन् भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । यसका लागि, विशेषगरी मैले वरिष्ठ उपाध्यक्ष भएदेखि हालसम्म यहाँहरूले दिएको साथ, समर्थन र प्रेरणाका लागि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु ।’
अध्यक्ष ढकालले विगतमा माग पूरा गराउन हड्ताल वा बन्द गर्नुपर्ने परम्परा रहेको बताउँदै अहिले सरकारले निजी क्षेत्रका एजेन्डालाई आफ्नै मानेर अघि बढाउनुले सरकार र निजी क्षेत्रको सम्बन्धमा नयाँ आयाम थपेको ढकालले बताए ।
आफू वरिष्ठ उपाध्यक्ष भएदेखि नै सहयोग गर्ने सम्पूर्ण टिमलाई धन्यवाद दिँदै ढकालले नवनिर्वाचित अध्यक्ष र कार्यसमितिलाई पूर्ण समर्थन रहने विश्वास दिलाए । उनले पदमा रहे पनि वा नरहे पनि आफू सधैँ निजी क्षेत्रको हकहितका लागि उपलब्ध हुने बताए ।
ढकालले रोजगारी सिर्जना, राजश्व वृद्धि, पूर्वाधार निर्माण र आम जनतालाई सेवा प्रवाह गर्ने जस्ता सबै क्षेत्रमा नयाँ नेतृत्वसँग मिलेर अघि बढ्न चाहेको बताए ।
महासंघमा नयाँ नेतृत्व
नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ विधानअनुसार स्वतः अध्यक्ष बनेका छन् भने अञ्जनको समूहका अधिकांश उम्मेदवारी निर्वाचित हुँदा वस्तुगत उपाध्यक्ष भने हेमराजको समूहले जितेको छ ।
वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भए । उनले ६३ मत ल्याउँदा प्रतिष्कपर्धी शिव घिमिरेले ६० मत पाए । एसोसियटतर्फको उपाध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भए । पाण्डे प्रतिष्पर्धी ज्योत्सना श्रेष्ठलाई ३२९ मतले पछि पार्दै निर्वाचित भइन् ।
पाण्डेले १०७९ मत ल्याउँदा श्रेष्ठले ७५० मतमा चित्त बुझाउनुप¥यो । श्रेष्ठ उपाध्यक्षमा दोहोरिन चुनावी मैदानमा उत्रिएकी थिइन् । उनी हेमराज ढकाल प्यानलकी थिइन् । एसोसियट महिला सदस्यमा पनि पाण्डेकै प्यानलका उम्मेदवार निर्वाचित भइन् । जुना माथेमा ११५६ र अभिज्ञा मल्ल १०५९ मतसहित निर्वाचित भए ।
ज्योत्सनाको प्यानलका शोभा ज्ञवालीले ७२१ र जमुना पौडेलले ७३२ मत पाइन् । एसोसियटतर्फ निर्वाचित अरु १७ सदस्यमध्ये १६ जना पाण्डेको प्यानलका छन् ।
एसोसिएट सदस्यतर्फ सचिन ढकालले १३१८, हेमन्त गोल्छा १२०२, अम्बिकाप्रसाद पौडेल ११८३, उज्ज्वल कुमार श्रेष्ठ ११५६, शक्तिकुमार बेगानी ११४२, ऋषि अग्रवाल ११२२, सुशिल थापा १०९४, राजेशकुमार अग्रवाल १०८२, सुयस प्याकुरेल १०६९, रामशरण भण्डारी १०४३,
बाबुकाजी कार्की १००६, दिवश न्यौपाने ९९१, कृष्णलाल महर्जन ९७४, प्रियराज रेग्मी ९५४, ईश्वरबहादुर जीसी ९४९, सुरज उप्रेती ९०७ र बटु लामिछाने ८६० मत ल्याएर विजयी भए ।
जिल्ला नगर उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भए ।
प्रकाशित मिति २०८३ वैशाख २३ गते बुधबार ०४:४७




