अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रको लगानी आकर्षित गर्ने, उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताएका छन्।
बजेट तर्जुमाका सन्दर्भमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै सचिव उपाध्यायले मुलुकमा राजनीतिक स्थिरतासँगै नयाँ आशा सञ्चार भएको अवस्थामा अर्थ मन्त्रालयले सोही अनुरूपको नीतिगत तयारी गरिरहेको जानकारी दिए ।
सचिव उपाध्यायले सरकारी लगानीले निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्नुपर्ने बताए ।
विगतमा जलविद्युत क्षेत्रमा सरकारले प्रसारण लाइन बनाइदिने र सिमेन्ट उद्योगसम्म पहुँच मार्ग पु¥याइदिने नीतिले ती क्षेत्रको विकासमा ठूलो टेवा पु¥याएको उदाहरण दिँदै उनले यस्ता सफल नीतिहरूलाई अन्य क्षेत्रमा पनि विस्तार गरिने बताए ।
अर्थतन्त्रको आगामी कार्यदिशाका लागि सचिव उपाध्यायले ‘५–डी’ को अवधारणा प्रस्तुत गरे ।
उनका अनुसार लोकतन्त्र र सुशासनको लाभमार्फत आर्थिक वृद्धि गर्ने, ६२ प्रतिशत सक्रिय युवा जनशक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्ने र निजी क्षेत्रका कानूनी तथा प्रक्रियागत बाधा हटाउन ‘डि–रेगुलेसन’ गर्नु अहिलेको आवश्यकता हो ।
त्यसैगरी, प्रविधिको प्रयोगमार्फत तिब्र आर्थिक विकास हासिल गर्न डिजिटल सम्पती र ‘डिजिटाइजेसन’ मा लगानी बढाउनुपर्नेमा उनको जोड छ । उनले भने, ‘सरकारले गर्ने खर्चको अर्थ हुनुपर्छ । एक रुपैयाँ सरकारी खर्चले कति निजी लगानी आकर्षित गर्नसक्छ भन्नेमा हामी स्पष्ट हुनुपर्छ ।’
विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र ज्ञानलाई नेपालको सार्वजनिक पूर्वाधार र उत्पादनशील क्षेत्रमा जोड्नसके आर्थिक समृद्धि हासिल गर्न सहज हुने उनले बताए ।
प्रकाशित मिति २०८३ वैशाख २५ गते शुक्रबार ११:२४




