राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाले बाढी–पहिरोजस्ता प्राकृतिक विपत्तिका कारण मुलुकको उद्योग र व्यापार क्षेत्रमा गम्भीर असर परिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
सरोकारवाला मन्त्रालयहरूसँगको छलफलमा उहाँले पूर्वाधार अवरोधका कारण आर्थिक क्षेत्रले भोग्नुपरेका समस्या र पर्यटन विकासका सम्भावनाबारे आफ्ना सुझावहरू दिएकी हुन् ।
सांसद राणाले बाढी–पहिरोका कारण सडक सञ्जाल विच्छेद हुँदा कच्चा पदार्थ ढुवानीमा समस्या उत्पन्न भई उद्योगहरू बन्द हुने स्थिति आएको बताइन् ।
उनले सडक अवरोधलाई ‘रेड अलर्ट’ मा राखेर नेपाली सेना र नेपाल प्रहरीसहितको संयन्त्र परिचालन गरी तत्काल मर्मत तथा सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिइन् ।
यसैगरी, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र सञ्चार मन्त्रीसँगको छलफलका क्रममा सांसद राणाले पर्यटन प्रवद्र्धनका लागि नयाँ अवधारणा अघि सारिन् । उनले नेपालका सम्पदा क्षेत्रहरूलाई ‘नो कार जोन’ (सवारी निषेधित क्षेत्र) का रूपमा विकास गर्न र ती स्थानमा स्तरीय रेस्टुरेण्ट तथा पर्यटकीय पूर्वाधार निर्माण गरी विदेशी पर्यटकलाई आकर्षित गर्नुपर्नेमा जोड दिएकी थिइन्।
‘सामान्य ३०–३५ मिटर सडक बिग्रँदा पनि धेरै दिनसम्म यातायात अवरुद्ध हुने गरेको छ, जसले उद्योग, राजस्व र रोजगारीमा प्रत्यक्ष नकारात्मक असर पारिरहेको छ,’ उनले भनिन् ।
छलफलका क्रममा सांसद राणाले सरकारले गरिरहेका कतिपय कामहरूको प्रशंसा समेत गरिन् ।
सरकारबाट भइरहेका सकारात्मक कार्यहरूले निजी क्षेत्र र जनप्रतिनिधिहरूलाई थप उत्साहित बनाएको उनको भनाई छ ।
प्रकाशित मिति २०८३ वैशाख २५ गते शुक्रबार ११:३८




