पोखरा ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले सरकारको नीति तथा कार्यक्रममा स्पष्ट दृष्टिकोणको अभाव रहेको बताएका छन् ।
प्रतिनिधि सभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले सत्तारुढ दलकै सभापतिले उठाएको व्यवस्था परिवर्तनपछि अब अवस्था परिवर्तनको नारासँग सरकारको नीति तथा कार्यक्रम मेल नखाएको टिप्पणी गरे ।
उनले त्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले अघि सारेको जनजीवन रूपान्तरणको अवधारणालाई आफूले सकरात्मक रुपमा लिएको बताए । तर नीति तथा कार्यक्रमका बुँदाहरू अध्ययन गर्दा सरकार आफ्नै नेतृत्वको सार्वजनिक प्रतिबद्धताबाट टाढिएको महशुस भएको उनको भनाइ थियो ।
उनले वैचारिक दृष्टिकोणबिना नीति तथा कार्यक्रम प्रभावकारी हुन नसक्ने तर्क गरे । अवस्था परिवर्तनको अर्थ जनताको जीवनस्तर सुधार, सामाजिक–आर्थिक रूपान्तरण तथा उत्पीडित, गरिब र न्याय खोजिरहेका नागरिकको पक्षमा ठोस कार्यक्रम ल्याउनु रहेको उनको भनाई छ ।
तर नीति तथा कार्यक्रमका १ देखि १०० सम्मका बुँदामा ती विषय प्रभावकारी रूपमा सम्बोधन नभएको उनको दाबी छ ।
उनले भने, ‘सत्तारुड दलका सभापतिको अभिव्यक्तिसंग सरकारको नीति तथा कार्यक्रम कति संगतिपुर्ण छ भनेर नियाल्ने प्रयत्न गरेको छु । उहाँले भन्नुभएको थियो, अग्रजहरुले व्यवस्था परिवर्तन गरे, अब हामीले मुलकको अवस्था परिवर्तन गर्नुपर्छ । मलाई कर्णप्रिय लागेको थियो, ती कुराहरु । सायद त्यस्तै होला, नीति तथा कार्यक्रममा त्यही कुरा झल्ेकला भन्ने सोचेको थिए, तर नीति तथा कार्यक्रमका बुँदा केलाउँदै जाँदाखेरी सरकार कता हराएको ? सरकार आफ्नै सभापतिको अभिव्यक्तिबाट कति टाढा भएको ? मलाई ताजुव लागिरहेको छ । सरकारका आफ्नै प्राथमिकता होलान्, तर त्यसको लागि दृष्टिकोणहरु चाँहिदैन ? दृष्टिकोण वेगर नीति तथा कार्यक्रम बन्छ ? कमसेकम सभापतिज्युले आफ्नो दृष्टिकोण राख्नुभएको छ, कि अवस्था बदल्ने । अवस्था वदल्ने भनेको के ? अवस्था वदल्ने भनेको जनताको जीवनस्तर बदल्ने हो । सामाजिक, आर्थिक रुवपान्तरण गर्ने हो, जो अभावमा छन्, जो उत्पिडनमा छन्, जो गरिब छन्, जसले न्यायको खोजी गरिरहेका छन् । उनीहरुको पक्षमा नीति तथा कार्यक्रम हुनुपर्ने हो । मैले १ देखी १०० बुँदासम्म हेरे, तर ती कुराहरु सम्बोधन गर्न यी बुँदाहरु तयार छैनन् । यो निति तथा कार्यक्रममा दृष्टिकोणको स्पष्ट अभाव देखिएको छ । अस्पष्ट र दृष्टिकोणको अभावमा आएको नीति तथा कार्यक्रमबाट रुपान्तरण र परिवर्तनको सम्भव छैन ।’
उनले नीति तथा कार्यक्रमलाई अस्पष्ट र दृष्टिकोणविहीन दस्तावेजको संज्ञा दिँदै यस्तो कार्यक्रमबाट रूपान्तरण सम्भव नहुने र जनताले अपेक्षा गरेको परिवर्तन पनि हासिल हुने टिप्पणी गरे ।
प्रकाशित मिति २०८३ वैशाख ३१ गते बिहीबार ०४:३१




