२०८३ साउन २१ गते बिहीबार

पोखराको रात्रिकालीन व्यवसायमा बेथिति बढेको गुनासो, राति २ बजेपछि बन्द गर्न माग

पोखराको रात्रिकालीन व्यवसायमा बेथिति बढेको गुनासो, राति २ बजेपछि बन्द गर्न माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ ३ गते आइतबार ०२:५५

पोखरा । पर्यटकीय राजधानी पोखरामा सञ्चालन हुँदै आएका रात्रिकालीन व्यवसायमा विकृति, असुरक्षा र बेथिति बढेको भन्दै पर्यटनसँग आबद्ध संघसंस्थाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा १५ वटा संस्थाले...

पोखरा ।

पर्यटकीय राजधानी पोखरामा सञ्चालन हुँदै आएका रात्रिकालीन व्यवसायमा विकृति, असुरक्षा र बेथिति बढेको भन्दै पर्यटनसँग आबद्ध संघसंस्थाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा १५ वटा संस्थाले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र बुझाउँदै राति २ बजेपछि व्यवसाय बन्द गर्न र अनुगमन कडा बनाउन माग गरेका हुन् ।

सरकारले २०८० चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै लेकसाइड क्षेत्रलाई २४ सै घण्टा खुला राख्ने निर्णय गरेको थियो । तर मापदण्ड कार्यान्वयन र प्रभावकारी अनुगमन अभावका कारण शान्ति सुरक्षामा असर परेको व्यवसायीहरूको भनाइ छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले रात्रिकालीन व्यवसाय सञ्चालनसम्बन्धी आचारसंहिता पूर्ण रूपमा पालना नभएको बताए । डान्स बार, दोहोरी साँझ र क्लबहरूले सामाजिक उत्तरदायित्व र ग्राहक सुरक्षालाई बेवास्ता गर्दा स्थानीय स्तरमा असन्तुष्टि बढेको उनको भनाइ छ ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्याप्त तयारी र छलफलविना २४ घण्टा बजार खुला गर्ने निर्णय गरिएको टिप्पणी गरे । उनले पोखरा आउने पर्यटकहरूको गतिविधि मध्यरातसम्म नहुने भएकाले रातभर बजार खुला राख्नु आवश्यक नभएको बताए । रात्रिकालीन व्यवसायका कारण युवापुस्तामा नकारात्मक असर परेको र अपेक्षित पर्यटन प्रवद्र्धन हुन नसकेको उनको भनाइ छ ।

पोखरा–६ की महिला सञ्जाल अध्यक्ष बबिता मल्लले डान्स बार र क्लबका कारण स्थानीयको जनजीवन प्रभावित भएको बताइन् । उनका अनुसार रातभर मदिरामा लठ्ठ भएका व्यक्तिका कारण बिहान हिँडडुल गर्ने सर्वसाधारण असहज र असुरक्षित महसुस गर्न बाध्य भएका छन् । साथै ध्वनि प्रदूषण र अमर्यादित गतिविधिले टोलछिमेकमा नकारात्मक असर परेको स्थानीयको गुनासो छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले होटल तथा पर्यटन क्षेत्रको प्रभावकारी नियमनका लागि सम्बन्धित निकायसँग समन्वय गरी ठोस निर्णय लिइने बताइन् । उनले तोकिएका मापदण्डको पूर्ण कार्यान्वयन र नियमित अनुगमन गरिने स्पष्ट पार्दै व्यवसायीहरूलाई पनि आन्तरिक नियमनमा सक्रिय हुन आग्रह गरिन् ।

 

प्रकाशित मिति २०८३ जेठ ३ गते आइतबार ०२:५५
हजुरको प्रतिक्रिया