पोखरा ।
प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकार सबै क्षेत्रमा द्वन्द्व निम्त्याउने काममा अग्रसर रहेको आरोप लगाएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै एमालेका सांसद डा. पुष्पराज कँडेलले उक्त कुरा बताएका छन् ।
उनले सरकारले मुलुकको अर्थतन्त्रलाई सुधार गर्नका लागि राजनीतिक दल, निजी क्षेत्र, छिमेकी मुलुक र मित्र राष्ट्रहरुसँग सहकार्य गरेर अघि बढने कुरा पनि उक्त विधेयकमा उल्लेख नगरेको भन्दै्र आपत्ति समेत जनाए ।
सांसद कँडेलले सरकारले मुलुकको अर्थतन्त्र मन्दीमा छ भनेर सत्य कुरा बोल्न समेत सो विधेयकमा नसकेको भन्दै आलोचना गरे ।
सांसद कँडेलले भने,‘सबै क्षेत्रमा द्वन्द्व निम्त्याउने हिसावले सरकार अग्रसर छ । राज्यका विभिन्न अंगहरुको बीचमा सरकारका विभिन्न तहहरुको बीचमा, राजनीतिक दलहरुको बीचमा सरकार र निजी क्षेत्रको बीचमा छिमेकी र मित्र देशहरुको बीचमा समन्वय र सहकार्यको कुरा यसमा देखिदैन । हर क्षेत्रमा द्वन्द्व सृजना गरेर कसरी स्थिरता प्राप्त हुन्छ । र अर्थतन्त्रका लागि राखिएका लक्ष्य हासिल हुन्छ ? साथै वर्तमान अवस्थामा निजी क्षेत्रको व्यवसायिक वातावरण सुधार्नेतर्फ यो प्रस्ताव केन्द्रित हुनुपर्दथ्यो । तर त्यस्तो देखिएन । अहिले देशको व्यवसायिक वातावरण धमिलिएको छ । उद्योगी व्यवसायीहरु आतंकित छन । सेयर बजार अल्मलिएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिएको छ । बजारमा मूल्यवृद्धि अचाक्ली छन । र उपभोक्ताहरु समस्यामा छन । दस्तावेजमा मुलुकको अर्थतन्त्र मन्दीमा छन समेत भनेर स्विकार गरिएको छैन ।’
सांसद कँडेलले वर्तमान सरकारले उद्योगी व्यवसायीहरुलाई साथमा लिएर मुलुकको अर्थतन्त्र सुधार गर्ने बाटो समेत अवलम्बन गर्न नसकेको दावी समेत गरे ।
प्रकाशित मिति २०८३ जेठ ४ गते सोमबार ०४:१३




