२०८३ साउन २१ गते बिहीबार

प्रकृतिलाई खुसी बनाउन म्याग्दीको दग्नाममा लिङ्गो जुधाई प्रतिस्पर्धा

प्रकृतिलाई खुसी बनाउन म्याग्दीको दग्नाममा लिङ्गो जुधाई प्रतिस्पर्धा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ ६ गते बुधबार ०२:५०

म्याग्दी । रघुगंगा गाउँपालिका–४,दग्नाममा मंगलबार भएको भुमेथानमा लिंगो जुधाई प्रतियोगितामा कान्छी गाउँ बिजयी भएको छ । प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन एकता क्लव दग्नामले आयोजनामा गरेको लिङ्गो जुधाउने प्रतियोगितामा...

म्याग्दी ।

रघुगंगा गाउँपालिका–४,दग्नाममा मंगलबार भएको भुमेथानमा लिंगो जुधाई प्रतियोगितामा कान्छी गाउँ बिजयी भएको छ । प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन एकता क्लव दग्नामले आयोजनामा गरेको लिङ्गो जुधाउने प्रतियोगितामा गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिंगोहरु जुधाउँदा कान्छी गाउँ विजय भएको हो । गतबर्ष समेत कान्छी गाउँ नै विजय भएको थियो ।

चार सय बर्ष पुरानो इतिहास बोकेको मानिने लिङ्गो जुधाउने कार्यक्रमलाई यो बर्ष पनि दग्नामबासीले निरन्तरता दिएका हुन् । दग्नाको भूमे पूजाको मुख्य आर्कषणको रुपमा लिइएको लिङ्गो जुधाउने प्रतिस्पर्धामा दुई गाउँका स्थानीय भेला भएर प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउने गर्दछन् । दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजासहित लिङ्गोलाई चिटिक्क सिङ्गारिएको अग्लो बाँसको लिङ्गो बोकेर मुन्का डाँडामा पुगेपछि प्रतिस्पर्धा गराउने गरिन्छ । कुनैबर्ष दुबै गाउँबाट लिंगोहरु जुधाउँदा बराबरी समेत हुने गरेको छ ।

प्राचीनकालदेखि भुमेथानको पुजाको अवसरमा लिङ्गो जुधाउने प्रतियोगितालाई नयाँ पुस्ताले समेत पुर्खाको कला र संस्कृतिको रुपमा निरन्तरता दिँदै प्रतियोगिताको जर्गेना गर्ने अभियानमा यूवाको सक्रियता बढेको स्थानीय सञ्चारकर्मी धनिलाल गर्बुजाले बताए । ‘यूवापुस्ताले निरन्तरता दिएको छौ, यो गाउँको मुख्य पहिचान बनेको छ’ गर्बुजाले भने ।

स्थानीयले पुख्र्यौली, गीत, पञ्चेबाजाको रमाइलो उत्सवसहित जातीय भेषभूषामा सजिएर भूमे देवताको पूजा गरेपछि दिउँसो देवतालाई खुशी बनाउनका लागि लिङ्गो जुधाउने गरिन्छ। भुमे देवतालाई जती खुसी बनाउन सकिन्छ, त्यती नै प्रकृतिले साथ दिने जनविश्वास अनुसार भुमे पुजा पर्वको अवसरमा स्थानिय दुई गाउँविचमा लिङ्गो जुधाउने प्रतिस्पर्धा हुदै आएको छ । भुमे पुजाको अवसरमा स्थानियले एकै दिन सामे भुमे, सिद्ध भुमे, देवि, देउराली,भारा, खोला र मण्डलीको पुजाआजा गरेका छन्।वर्षभरीको खेतीबाली, राम्रो होस्, प्राकृतिक प्रकोपसहित विनाश नहोस्, स्थानीयको मनोकामना पुरालगायत भूमे देवतालाई विधि पुरा गरी पुजाआजा गर्ने गरिएको छ । भुमे पुजाको अवलोकन गर्न पूर्वराज्यमन्त्री खमबहादुर गर्बुजा लगायत स्थानीय जनप्रतिनिधिको समेत उपस्थिती रहेको थियो ।

लिङ्गो जुधाई प्रतियोगिताको अवसरमा रघुगंगा गाउँपालिका अन्तरगत छिमेकी वडाबाट समेत अवलोकन गर्न आउने गरेका छन् । लिंगो जुधाउने खुसियाली र भावनात्मक प्रतिस्पर्धासँगै एकताको प्रतिकको रुपमा लिने गरिन्छ । जेठा भुमेको रुपमा चिनीने भएकाले दग्नामबासीले हरेक बर्षको जेष्ठ महिनामा बर्षभरिको खेतीबालि राम्रो होस, बाढि, पहिरो, भुक्षय जस्ता प्राकृतिक प्रकोपको सृजना नहोस, स्थानियबासीको सु–स्वास्थ्यको कामना गर्दै पुर्खौदेखी भुमे देवताको पुजा गर्दै आएका छन् ।

प्रकाशित मिति २०८३ जेठ ६ गते बुधबार ०२:५०
हजुरको प्रतिक्रिया