पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १७ स्थित सेती नदीको खोचमा खसेर बेपत्ता भएका एक पुरुषको शव सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले फेला पारेको छ।
भारतको सितामढी स्थायी घर भई हाल पोखरा–१७, घारिपाटन बस्ने ३४ वर्षीय मुकेश महतो आईतबार राति पौने १० बजेको समयमा सेती नदीको खोचमा हाम फाली बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटर कालिका कास्कीबाट खटिएको टोलीले आज विहान महतोको शव फेला पारेको हो ।
गएराती नै सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्काको कमाण्डमा १८ जनाको विपद् व्यवस्थापन टोली राति नै घटनास्थल खटिएकोमा, फेला नपरेपछि सोमबार बिहानै पुनः सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा ११ जनाको विशेष विपद् व्यवस्थापन टोली खोजतलासका लागि परिचालन गरिएको र उक्त टोलीले अन्दाजी २५० फिट गहिरो खोचबाट रोप रेस्क्यु विधिको प्रयोग गरी शव निकालेको जानकारी दिएको छ ।
सशस्त्र प्रहरीले शव निकालेर नेपाल प्रहरीलाई बुझाएपछि मुचुल्का पूरा गरी पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
प्रकाशित मिति २०८३ जेठ ११ गते सोमबार ०३:०५




