पोखरा ।
पोखरा महानगरपालिकाले पोखरामा सञ्चालनमा रहेका पाँच वटा खानेपानी उद्योगमा मंगलबार अनुगमन गरेको छ । उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा गएको टोलीले उद्योगहरूको सरसफाइ, नापतौल, खाद्य अनुमति तथा दर्ता नवीकरणको अवस्थाबारे निरीक्षण गरेको हो।
अनुगमन टोलीले पोखरा–२५ याम्दीस्थित पेन्गूईन आक्वा मिनिरल वाटर कम्पनी, जलसेवा प्रालि, क्रिष्टल मिनिरल वाटर, सिएम आक्वा मिनिरल वाटर तथा पोखरा–१ सिम्पानीस्थित अमृत जलधारा खानेपानी उद्योगमा पुगेर निरीक्षण गरेको हो ।
महानगरका अनुसार पेन्गूईन आक्वा मिनिरल वाटर कम्पनीमा पानीका जार र कर्मचारीको सरसफाइमा थप ध्यान दिनुपर्ने देखिएको छ । कम्पनीलाई नापतौलसम्बन्धी नवीकरण नियमित गर्न पनि सचेत गराइएको छ ।
जलसेवा प्रालिलाई आवश्यक कागजपत्रसहित महानगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको छ भने क्रिष्टल मिनिरल वाटरलाई एक साताभित्र दर्ता नवीकरणसहित महानगरको सहकारी शाखामा उपस्थित हुन भनिएको छ ।
त्यस्तै सिएम आक्वा मिनिरल वाटरमा नापतौल नवीकरण नियमित नभएको तथा केही आवश्यक कागजपत्र नदेखिएको भन्दै सात दिनभित्र सहकारी शाखामा उपस्थित हुन निर्देशन दिइएको महानगरले जनाएको छ ।
खाद्य अनुमति नभेटिएकाले नापतौल कार्यालयमा समेत सम्पर्क गर्न भनिएको छ । अमृत जलधारा खानेपानी उद्योगलाई नापतौल नियमित गर्न, उपकरणसहित खाद्य अनुमति अद्यावधिक गर्न तथा महानगरमा कर तिरेको प्रमाणसहितका कागजपत्र लिएर सहकारी शाखामा सम्पर्क गर्न निर्देशन दिइएको छ ।
अनुगमनका क्रममा केही उद्योगले पानीका जारमा मूल्य उल्लेख नगरेको तथा कतिपय बोतलमा मूल्यसूची स्पष्ट नदेखिएको पाइएको उपप्रमुख गुरुङले बताइन् । “पहिलो पटक सुधार गर्ने अवसर दिएर सचेत गराएका छौं,” उनले भनिन् ।
अनुगमनमा पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा, जिल्ला प्रशासन कार्यालय कास्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय तथा राष्ट्रिय उपभोक्ता मञ्च, पत्रकार सहित महानगरका कर्मचारीहरुको सहभागिता रहेको थियो।
प्रकाशित मिति २०८३ जेठ १२ गते मंगलबार ०३:४५




