२०८३ साउन २१ गते बिहीबार

समावेशिताको अभ्यासमा काँग्रेस नै अगाडि छः सहमहामन्त्री राणा

समावेशिताको अभ्यासमा काँग्रेस नै अगाडि छः सहमहामन्त्री राणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ १६ गते शनिबार ०४:२०

उनले भने, ‘बहुदलीय व्यवस्था आउनुअघि नै काँग्रेसले पर्शुनारायण चौधरीलाई महामन्त्री बनाएको थियो । पार्टीको केन्द्रिय उपाध्यक्षमा विजयकुमार गच्छदार, सहमहामन्त्रीमा उमाकान्त चौधरी र हाल योगेन्द्र चौधरी हुनुहुन्छ । यो समावेशिता एमाले, माओवादी वा रास्वपा जस्ता अन्य दलहरूमा देखिँदैन ।’

पोखरा ।

नेपाली काँग्रेसका सहमहामन्त्री उदय शमशेर जबराले नेपाली काँग्रेस अन्य राजनीतिक दलको तुलनामा सबैभन्दा बढी समावेशी रहेको दाबी गरेका छन् ।

नेपाल थारु संघको प्रथम महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले पार्टीको नीति र संरचनाले थारु समुदायलाई उच्च प्राथमिकता दिएको बताएका हुन् ।

नेपाल थारु संघलाई कांग्रेसको सबैभन्दा कान्छो भ्रातृ संगठनको रूपमा चिनाउँदै सहमहामन्त्री जबराले छोटो अवधिमै सबै जिल्ला अधिवेशनहरू सफलतापूर्वक सम्पन्न हुनु गौरवको विषय भएको उल्लेख गरे ।

२०७९ साल माघ ४ गते अध्यक्षको मनोनयन भएपश्चात विभिन्न प्रतिकूलताका बाबजुद संघले सांगठनिक स्वरुप ग्रहण गरेको र अहिले ऐतिहासिक महाधिवेशनको चरणमा आइपुगेको उनले जानकारी दिए ।

जबराले अन्य राष्ट्रिय दलहरूको तुलनामा काँग्रेसले थारु समुदायका नेताहरूलाई नेतृत्वको मुख्य तहमा स्थापित गरेको दाबी गरे ।

उनले भने, ‘बहुदलीय व्यवस्था आउनुअघि नै काँग्रेसले पर्शुनारायण चौधरीलाई महामन्त्री बनाएको थियो । पार्टीको केन्द्रिय उपाध्यक्षमा विजयकुमार गच्छदार, सहमहामन्त्रीमा उमाकान्त चौधरी र हाल योगेन्द्र चौधरी हुनुहुन्छ । यो समावेशिता एमाले, माओवादी वा रास्वपा जस्ता अन्य दलहरूमा देखिँदैन ।’

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा थारु समुदायकै डिल्ली चौधरीलाई नियुक्त गरेर काँग्रेसले समावेशिताको ज्वलन्त उदाहरण पेश गरेको उनको भनाइ छ ।

जबराले पार्टीभित्र थारु समुदायको जनसंख्याको अनुपात र उनीहरूको सक्रियताका आधारमा अझ बढी अधिकार र अवसरका लागि थारु नेताहरू आफैँ सक्षम हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति २०८३ जेठ १६ गते शनिबार ०४:२०
हजुरको प्रतिक्रिया