पोखरा ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गनेश पौडेल ले पोखरामा निर्माणाधीन सेती नदीमाथिको सिग्नेचर पुलको संयुक्त अनुगमन गरेका छन्।
अनुगमनका क्रममा मन्त्रीद्वयले निर्माण कार्यलाई तीव्रता दिँदै थपिएको समयभित्रै सम्पन्न गर्न निर्माण कम्पनी तथा सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्। उनीहरूले आगामी फागुन २१ गतेभित्र पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आवश्यक समन्वय र व्यवस्थापन गर्न आग्रह गरे।
मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरले मन्त्रीहरूलाई पुल निर्माणको हालसम्मको प्रगति तथा म्याद थपसम्बन्धी जानकारी गराएका थिए। उनका अनुसार पुल निर्माणको म्याद आगामी फागुन २१ गतेसम्म थप गरिएको छ।
कुँवरले सेती नदीमाथि निर्माणाधीन सिग्नेचर पुलको भौतिक प्रगति हालसम्म करिब ६० प्रतिशत पुगेको जानकारी दिए। पुल निर्माणको जिम्मा रसुवा कन्स्ट्रक्सन ले पाएको छ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक विभागमार्फत निर्माण भइरहेको उक्त पुलको ठेक्का ९४ करोड रुपैयाँ (भ्याटबाहेक) मा रसुवा कन्स्ट्रक्सनले प्राप्त गरेको हो।
अनुगमनका क्रममा कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्धादेवी शर्मा ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक विद्युत्का पोल नसारिएका कारण फुटपाथ र सर्भिस लेन निर्माणको काम प्रभावित भएको जानकारी गराइन्। उनले आगामी दिनमा ठेक्का सम्झौता गर्दा सडक बत्ती, सीसी क्यामेरा लगायतका आवश्यक पूर्वाधारसमेत समेटेर एकीकृत रूपमा ठेक्का व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताइन्।
पोखरा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत निर्माण भइरहेको सिग्नेचर पुललाई पोखराको आधुनिक पूर्वाधारको महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ। पुल निर्माण सम्पन्न भएपछि सेती नदी वारपारको आवागमन सहज हुने तथा क्षेत्रीय यातायात व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति २०८३ जेठ १८ गते सोमबार ०३:३१




