पोखरा ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राज्य संयन्त्रका कमजोरीहरू सुधार्दै ‘मिसन मोड’ मा काम गरेर असाधारण परिणाम निकाल्ने दाबी गरे ।
अर्थमन्त्री डा. वाग्लेले राज्यको प्रोत्साहन संरचनामा सुधार ल्याउनु आवश्यक रहेको उल्लेख गर्दै वन, वातावरण र खरिद ऐन लगायतका क्षेत्रमा एक महिनाभित्रै महत्वपूर्ण परिवर्तन गरिएको जानकारी दिए ।
उनले आगामी दिनमा थप ३० देखि ३५ वटा कानून संशोधन गर्ने सरकारको कार्ययोजना रहेको समेत स्पष्ट पारे ।
हाल बजारमा देखिएको शिथिलता र सङ्कुचित भएको समष्टिगत मागलाई सम्बोधन गर्न सरकारले विशेष ध्यान दिएको उनको भनाइ थियो ।
अर्थतन्त्रलाई पुनर्जीवित गर्ने उद्देश्यले कर कटौती र तलब वृद्धि जस्ता उपायहरू अपनाइएको उनले बताए ।
कर प्रशासनमा रहेको कठोरता, भ्रष्टाचार र करसम्बन्धी अज्ञानताका कारण नागरिकले भोग्नुपरेको समस्याप्रति संवेदनशील रहेको बताउँदै उनले दफा ५७ लगायतका कर व्यवस्थामा सुधार सुरु गरिएको जानकारी दिए ।
साथै, पुराना कर बक्यौताहरूलाई ‘क्लिन स्लेट’ को अवधारणाअनुसार समाधान गर्ने प्रयास भइरहेको उनले उल्लेख गरे ।
उनले भने, ‘सही नीति, असल नियत र अब्बल क्षमता—यी तीन आधारमा हामी अगाडि बढ्छौँ । राज्य संयन्त्रका कमजोरीहरू हामीलाई थाहा छन् । तर मिसन मोडमा काम गर्दा यही संयन्त्रले असाधारण परिणाम पनि दिन सक्छ । त्यसका लागि प्रोत्साहन संरचना सुधार गर्नुपर्नेछ । वन, वातावरण, खरिद ऐन लगायतका विषयमा हामीले एक महिनामै धेरै परिवर्तन गरिसकेका छौँ । आगामी दिनमा थप ३०–३५ वटा कानून संशोधन गर्ने योजना छ । अहिले बजार शिथिल छ । समष्टिगत माग लगभग सङ्कुचित अवस्थामा पुगेको छ । त्यसलाई पुनर्जीवित गर्ने उद्देश्यले कर कटौती, तलब वृद्धि लगायतका उपाय अपनाइएका छन् । हामीले केही समयका लागि आयकरमा अपेक्षाकृत उदार नीति लिएर उपभोगलाई प्रोत्साहन गर्ने प्रयास गरेका छौँ । १० लाख रुपैयाँसम्मको आयमा कर छुट, व्यक्तिगत आयकरको उच्चतम सीमामा १० प्रतिशत बिन्दुले कमी जस्ता कदमहरू त्यसकै हिस्सा हुन् । कर प्रशासनको कठोरता, करसम्बन्धी अज्ञानता र भ्रष्टाचारका कारण धेरै नेपालीहरू समस्यामा परेका छन् । त्यसलाई सुधार गर्न हामीले दफा ५७ लगायतका कर सुधारहरू अघि बढाएका छौँ । तर यी सबै प्रयासका बाबजुद स्रोतको सीमा यथावत छ । महत्वाकांक्षी राजश्व लक्ष्य, आन्तरिक तथा बाह्य ऋण व्यवस्थापन र विकासका उच्च आकांक्षाबीच सन्तुलन कायम गर्नु नै अहिलेको सबैभन्दा ठूलो चुनौती हो ।’
आफ्ना प्रयासहरूका बाबजुद स्रोतको सिमितता प्रमुख चुनौतीका रूपमा रहेको अर्थमन्त्रीले स्वीकार गरे ।
महत्वाकांक्षी राजश्व लक्ष्य, आन्तरिक तथा वाह्य ऋण व्यवस्थापन र विकासका उच्च आकाङ्क्क्षाहरूबीच सन्तुलन कायम गर्नु नै वर्तमान समयको सबैभन्दा ठूलो चुनौती रहेको उनले बताए ।
प्रकाशित मिति २०८३ जेठ १८ गते सोमबार ०५:१७




