पोखरा ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्रीद्वारा संसदमा नेपालले पनि भारतको जमिन मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्मा जवाफ माग गरेका हुन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले राष्ट्रिय सार्वभौमसत्ता र अखण्डताको विषयमा सरकार र प्रतिपक्ष एक हुनुपर्नेमा जोड दिए । सांसद राईले प्रधानमन्त्रीले गत दिनुभएको अभिव्यक्ति राष्ट्रहित प्रतिकूल रहेको भन्दै त्यसलाई अविलम्ब सच्याउनुपर्ने माग गरे ।
उनले नेपाल–भारत सीमा मिचिएको विषयमा प्रधानमन्त्रीले बिना प्रमाण र पुष्टि बोलेको भए त्यसका लागि ३ करोड नेपाली जनतासँग माफी माग्नुपर्ने अडान राखे । बैठकमा सांसद राईले प्रधानमन्त्रीको सदनमा उपस्थितिको विषयलाई लिएर संवैधानिक र कानूनी प्रश्नसमेत उठाए ।
प्रतिनिधि सभा नियमावलीको नियम ४ को उपनियम (१) बमोजिम प्रत्येक सदस्यले बैठकमा उपस्थित हुनुअघि हाजिर गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको हाजिरी अभिलेख सार्वजनिक गर्न माग गरे ।
उनले संविधानको धारा ७७ को उपधारा (१) को खण्ड (ग) लाई उद्धृत गर्दै यदि प्रधानमन्त्री प्रतिनिधि सभाको सदस्य नरहेको अवस्थामा निजको पद स्वतः रिक्त हुने संवैधानिक व्यवस्थातर्फ ध्यानाकर्षण गराए ।
उनले प्रधानमन्त्रीले सदनका बैठकहरूमा नियमित हाजिर गरे÷नगरेको विषयमा अभिलेख शाखाबाट स्पष्ट जानकारी गराउन सभामुखसँग माग गरे ।
उनले भने, ‘धर्म वर्ग भन्दा माथि देख्नुपर्छ हाम्रो देशलाई । त्यसो भएको कारणले गर्दा यहाँ सत्ता पक्ष र विपक्ष प्रतिपक्ष भन्ने कुरा छैन । देशको सीमाना, देशको अखण्डता, देशको सार्वभौमसत्ता जोगाउने कुरा हो । यसमा हामी सबैजना यहाँ उपस्थित सबै सांसदहरुको एउटै माग हुन जरुरी छ । प्रधानमन्त्री जस्तो सरकारको प्रमुख व्यक्तिले जुन यो १७ गते राख्नुभएको अभिव्यक्ति छ, त्यो अभिव्यक्ति अविलम्ब सच्याउनुपर्छ। प्रधानमन्त्री ज्यु यहाँ उपस्थित हुनुपर्छ भन्ने म माग राख्दछु । र एउटा अर्को कुरा म के राख्न चाहन्छु भने यो हाम्रो नियमावलीको नियम ४ को १ मा के भनिएको छ भने प्रत्येक सदस्यले बैठकमा आउनुपर्ने छ र बैठकमा आउनुअघि, बस्नुअगाडि हाजिर गर्नुपर्ने छ भन्ने छ । म प्रधानमन्त्री ज्यु यहाँ आउँदाखेरि उहाँको हाजिर गर्नुभएको छ कि छैन, त्यो हेर्नका लागि अभिलेख शाखालाई म अनुरोध गर्न चाहन्छु । यदि उहाँले हाजिर गर्नुभएको छैन भने उहाँ यो प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ । र यदि उहाँ यो तपाईको चाहिने केरे प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ भने संविधानको धारा ७७ को १ को ग ले निज चप्रतिनिधिसभाको सदस्य नरहेमा, प्रतिनिधिसभाको सदस्य नरहेको हकमा प्रधानमन्त्रीको पदबाट मुक्त हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ । म उहाँको हाजिर यो अभिलेखमा छ कि छैन, उहाँ कति चोटी आउनुभयो अहिलेसम्मको सदनको बैठकहरूमा र कति चोटी उहाँले हाजिर गर्नुभयो यो पनि देखाइदिनका लागि म अनुरोध गर्न चाहन्छु । र जोड चाहिँ हामी के मा दिन्छौँ भने नेपालले भारतको सीमा कहाँ–कहाँ मिचिएको रहेछ, त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गरेर दिनुपर्छ। सरकारलाई गल्ती गर्ने छुट हुन्न। सरकारले गल्ती गर्न पाउँदै पाउँदैन, गल्ती गर्नै हुँदै हुँदैन। त्यसो भएको कारणले उ सरकार हो। यदि उहाँले चाहिँ आवेगमा आएर अथवा चाहिँ बिना पुष्टि बिना प्रमाणको कुरा राखेको हो भने हामीलाई हैन, हर्क साम्पाङलाई हैन, यहाँका सांसदहरूलाई हैन, ३ करोड नेपालीलाई उहाँले सम्बोधन गरेर ’मैले यस्तै भइहालेछ’ भनेर माफी माग्नुपर्छ। म यति माग राख्न चाहन्छु ।’
सांसद राईले प्रधानमन्त्रीले भारतसँगको सीमा विवादका सम्बन्धमा सदनमा आएर तथ्यगत पुष्टि गर्नुपर्ने र हल्का टिप्पणी गर्न नहुने भन्दै सरकारको जवाफदेहितामाथि प्रश्न उठाए ।
प्रकाशित मिति २०८३ जेठ १९ गते मंगलबार ०४:२४




