पोखरा ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र साहले संसदमा आएर माफी माग्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले प्रधानमन्त्री साहले दिएको अभिव्यक्ति राष्ट्रहित विपरित भएकोले माफी माग्नुपर्ने बताएका हुन् ।
उनले भारतलाई रिजाउने हिसावले बोलेको हो की भन्ने शंका उत्पन्न भएको बताए ।
प्रधानमन्त्री साहको ‘नेपालले भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिले देशको भौगोलिक अखण्डता, सार्वभौम सत्ता, सुरक्षामाथी नै खतरा हुने देखिएको उनको भनाई छ ।
उनले प्रधानमन्त्रीले नेपालले भारतको कहाँ, कति भूमी मिचेको हो भन्ने जानकारी दिनुपर्ने बताए ।
उनले भने, ‘उहाँले बोल्नुभएको सरासर गलत छ, कार्यकारी प्रमुखले त्यो तरिकाले बोल्न हुन्न । उहाँले जे बोल्नु भएको छ, त्यसले हाम्रो देशको भौगोलिक अखण्डता, सार्वभौम सत्ता, सुरक्षामाथी नै खतरा हुने देखिन्छ । त्यो बोलिसकेपछि विभिन्न ठाउँहरुमा भारतीय सेनाहरु हातहतियार लिएर प्रवेश गरे, विभिन्न खालको योजनाहरु रोकिए, भन्ने कुराहरु आईरहेको छ । उहाँले आफ्नो गलत भनाईलाई सच्याउँदै सदनमा माफी माग्नुपर्छ । प्रधानमन्त्रीजस्तो मान्छे कसरी चिप्लिनुभयो होला र ? त्यसरी चिप्लिन पाईन्छ र भन्ने कुरा हो । अर्को कुरा मलाई अचम्म लाग्छ, तालिकामा हाम्रो बैठक थिएन, १७ गते थिएन, आईतबार विदाको दिन संसद राख्नुभएछ, उहाँ बोल्नुभएछ । सायद रविजी १८ गते भारत जाँदै गर्ने कारणले पनि आकस्मिक बैठक बोलाउनुपर्ने भयो की ? त्यो पनि हुनसक्छ ।’
उनले प्रधानमन्त्री साहले संसदमा आएर माफी नमागेसम्म संसदमा अरु विषयमा छलफल नहुने बताए । उनले राष्टियता भन्दा ठुलो बजेटको छलफल नभएको उल्लेख गरे ।
प्रकाशित मिति २०८३ जेठ १९ गते मंगलबार ०५:०१




