पोखरा ।
नेकपा एमालेकी सांसद सम्झना देवकोटाले प्रधानमन्त्री बालेन्द्र साहले दिएको सीमासम्बन्धी अभिव्यक्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभामुखको मौनताले शंका उत्पन्न गराएको बताएकी छिन् ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा उहाँले प्रधानमन्त्रीको राष्ट्रहित विपरीत र गैरजिम्मेवार अभिव्यक्तिमा पनि सभामुख डोलप्रसाद अर्यालले कुनै रुलिङ नगर्नु र रास्वपा मौन बस्नुले सबै पक्षलाई सशंकित बनाएको बताएकी हुन् ।
उनले हालसम्म भारतका कुनैपनि आधिकारिक निकायबाट नेपालले सीमा मिचेको भन्ने जानकारी नेपाललाई नदिएको अवस्थामा प्रधानमन्त्रीले अचानक त्यस्तो आशयको जवाफ दिनु गम्भीर विषय भएको बताइन् ।
उनले नेपालभारत बीचको सीमा विवाद सुगौली सन्धीदेखि नै रहँदै आएपनि भारतले हालसम्म नेपालले भूमी मिचेको दाबी नगरेको बताइन् । वर्तमान सरकारले गठन भएदेखि नै विवादास्पद र अमान्य गतिविधिहरू गरिरहेको उनको आरोप छ ।
पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारी, सुकुम्बासी तथा भूमिहीनको उचित व्यवस्थापनबिना उठीबास लगाउने कार्य तथा सीमासम्बन्धी अभिव्यक्तिले सरकारको सही ढंगले नचलेको प्रष्ट हुने उनको भनाई छ ।
सांसद देवकोटाले प्रधानमन्त्रीको विगतको अभिव्यक्ति स्मरण गराउँदै मेयर हुँदा ग्रेटर नेपालको नक्सा जारी गर्नेकुरा गर्ने व्यक्ति आज नेपाललाई ‘स्मल नेपाल’ बनाउने अभिव्यक्ति दिन किन पुगे ? भनेर प्रश्न उठाइन् ।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिपछि रास्वापका सभापति रवि लामिछाने भारत भ्रमणमा जानु पनि शंकास्पद रहेको उल्लेख गरिन् । यसमा कुनै प्रकारको तालमेल रहेको हो कि भन्ने प्रश्न उठेको उनको भनाई छ ।
उनले भनिन्, ‘नेपाल सरकारलाई अहिलेसम्म भारतको कुनै निकायले नेपालले सिमा मिचेको भनेका छैनन्, तर आज एकाएक नेपालका प्रधानमन्त्रीले यो जवाफ दिनुभयो । प्रधानमन्त्रीले सरकार गठन भएको दिनदेखी नै गरेका गतिविधि अमान्य खालका छन् । पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको गिरफ्तारी, सुकुम्बासी र भुमीहिनको व्यवस्थापन नगरि उठिवास लगाउने काम र प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी अभिव्यक्तिले गर्दा उहाँमाथी हाम्रो ठुलो प्रश्न छ । उहाँ मेयर हुँदा ग्रेटर नेपालको नक्शा जारी गर्ने भन्दै हुनुहुन्थ्यो, तर आज एकाएक नेपाल खुम्चिएर स्मल नेपाल कसरी बन्न पुग्यो ? उहाँको बक्तव्यकै भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जानु ? यो कतै तालमेल पो छ कि हामीलाई शंका लागेको छ । यस्तो गभ्मिर विषयमा सभापतिको रुलिङ नहुनु र रास्वपा जस्तो पार्टी नबोल्नुमा पनि हामीलाई शंका लागेको छ, हामी सबैतिर सशंकित भएका छौँ । प्रधानमन्त्री स्वयले दिनुभएको अभिव्यक्ति राष्ट्रहित, राष्ट्रियता विरुद्ध र गैरजिम्मेवार भएकोले उहाँले नैतिक रुपमा पनि प्रधानमन्त्री भईरहन सुुहाँउदैन । त्यसैले पदको दुरुपयोग नगरि आफ्नो पदबाट राजिनामा दिएर आम नेपाली जनतासंग माफी माग्नुपर्छ ।’
सांसद देवकोटाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियता र राष्ट्रहितविरुद्ध भएको दाबी गर्दै यस्तो व्यक्तिले प्रधानमन्त्री पदमा बसिरहनु उपयुक्त नहुने बताइन् ।
उनले पदको दुरुपयोग नगरी तत्काल राजीनामा दिएर आम नेपाली जनतासँग माफी माग्न प्रधानमन्त्रीलाई आग्रह गरिन् ।
प्रकाशित मिति २०८३ जेठ २० गते बुधबार ०४:२७




