२०८३ साउन २१ गते बिहीबार

नेपाल–भारत सीमा विषयमा तेस्रो मुलुकलाई जोड्ने प्रयास नेपालको हित विपरितः काँग्रेस सांसद थापा

नेपाल–भारत सीमा विषयमा तेस्रो मुलुकलाई जोड्ने प्रयास नेपालको हित विपरितः काँग्रेस सांसद थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ २० गते बुधबार ०४:३५

सांसद थापाले प्रधानमन्त्रीसँग आफ्नो भनाइ पुष्टि गर्ने ठोस प्रमाण भएमा संसद र जनतासमक्ष सार्वजनिक गर्न आग्रह गर्नुपर्ने अन्यथा राष्ट्रसँग क्षमायाचना गर्नुपर्ने बताए । राष्ट्रिय हितसँग सम्बन्धित विषयमा भ्रम सिर्जना गर्ने छुट कसैलाई नरहेको उनको भनाई छ ।

पोखरा ।

नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधिसभामा दिएको नेपालभारत सीमासम्बन्धी अभिव्यक्ति अत्यन्त गम्भीर, दुर्भाग्यपूर्ण तथा गैरजिम्मेवार भएको बताएका छन् ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले नेपालले प्रधानमन्त्रीले दिएको नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने आशयको अभिव्यक्तिले नेपालको छवि धुमिल भएको बताए ।

उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले विश्वका अन्य राष्ट्रहरुसँगको नेपालको कुटनीतिमा समेत असर पार्ने बताए ।

उनले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय हित तथा छिमेकी राष्ट्रसँगको संवेदनशील सम्बन्धसँग जोडिएका विषयमा सरकार प्रमुखका अभिव्यक्ति तथ्यमा आधारित, स्पष्ट र जिम्मेवार हुनुपर्ने उल्लेख गरे ।

सांसद थापाले प्रधानमन्त्रीसँग आफ्नो भनाइ पुष्टि गर्ने ठोस प्रमाण भएमा संसद र जनतासमक्ष सार्वजनिक गर्न आग्रह गर्नुपर्ने अन्यथा राष्ट्रसँग क्षमायाचना गर्नुपर्ने बताए । राष्ट्रिय हितसँग सम्बन्धित विषयमा भ्रम सिर्जना गर्ने छुट कसैलाई नरहेको उनको भनाई छ ।

उनले नेपाल–भारत सीमा तथा भू–राजनीतिक विषयमा तेस्रो मुलुकको भूमिका वा धारणा जोड्ने प्रयास पनि चिन्ताजनक भएको बताए ।

नेपालको सीमा, सार्वभौमसत्ता र राष्ट्रिय हितसँग सम्बन्धित विषयहरू नेपाल र भारतबीचको संवाद तथा स्थापित कुटनीतिक संयन्त्रमार्फत समाधान हुनुपर्नेमा उनले जोड दिए ।

यस्ता संवेदनशील विषयमा तेस्रो पक्षलाई अनावश्यक रूपमा प्रवेश गराउनु नेपालको हितमा नरहेको उनको भनाई छ ।

यस्ता गतिविधिले नेपाल–भारत सम्बन्धमा अनावश्यक अविश्वास, भ्रम र तनाव उत्पन्न हुन सक्ने चेतावनी दिँदै उनले नेपाललाई कुनै पनि प्रकारको कूटनीतिक टकराव वा गतिरोधबाट लाभ नहुने बताए ।

उनले सरकारले संवेदनशील, संयमित, स्पष्ट र जिम्मेवार कूटनीतिक दृष्टिकोण अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री साहले लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा विवादमा ईङ्ल्याण्ड (यूके)सँग पनि छलफल भइरहेको अभिव्यक्ति दिएका थिए ।
उनले भने, ‘नेपालको सार्वभौमसत्ता, राष्ट्रियहित र छिमेकी राष्ट्रसंगको संवेदनशील विषयसंग जोडिएको अभिव्यक्ति अत्यन्तै जिम्मेवार, स्पष्ट र यथार्थमा आधारित हुनुपर्छ । यदी प्रधानमन्त्रीसंग आफ्नो भनाई पुष्टी गर्ने ठोस प्रमाण छन् भने ती प्रमाण संसद र नेपाली जनतासमक्ष प्रस्तुत गर्नुपर्छ । यदी त्यस्ता प्रमाण छैन भने उहाँले राष्ट्रसंग क्षमायाचना गर्नुपर्छ । राष्ट्रियहितसंग जोडिएको विषयमा भ्रम सिर्जना गर्ने छुट कसैलाई पनि छैन । त्यसभन्दा पनि चिन्ताको विषय के हो भने नेपाल भारतबीचको द्धिपक्षीय प्रकृतिबीचको सीमा र भुराजनीतिक विषयमा तेस्रो मुलुकको भुमिका वा धारण जोड्ने प्रयास भएको देखिन्छ, नेपालको सीमा, सार्वभौमसत्ता र राष्ट्रियहित संग सम्बन्धित विषयहरु नेपाल र भारतबीचको सम्बाद र स्थापित कुटनितिक संयन्त्रमार्फत समाधान हुनुपर्छ । यस्तो संवेदनशील विषयमा तेस्रो पक्षलाई अनावश्यक रुपमा प्रवेश गराउनु नेपालको हितमा छैन । नेपाल भारत सम्बन्धमा अनावश्यक अविश्वास, भ्रम र तनाव सिर्जना गर्न सक्छ । हामीले बुझ्नुपर्छ, नेपाललाई कुनै पनि प्रकारको नेपाल भारत कुटनीतिक टकराव वा गतिरोधबाट लाभ हुँदैन । त्यसैले सरकारले यस्तो विषयमा अत्यन्त संवेदनशील, संयमित, स्पष्ट र जिम्मेवारीपुर्ण कुटनितिक दृष्टिकोण अपनाउनुपर्छ ।’

सांसद थापाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले दिएको स्पष्टीकरणले झन् धेरै प्रश्न खडा गरेको पनि बताए ।  मन्त्रालयले प्रधानमन्त्रीको भनाइ सुस्ता क्षेत्रको ‘क्रस होल्डिङ’ तथा सीमा सम्बन्धी जटिल अवस्थासँग सम्बन्धित रहेको उल्लेख गरेको थियो ।

सांसद थापाले ‘क्रस बोर्डर अकुपेसन’लाई एउटा राष्ट्रले अर्को राष्ट्रको भूमि अतिक्रमण गरेको भन्न नमिल्ने बताए । उनले प्रधानमन्त्रीको अभिव्यक्तिको कारण संसद अवरोध भएको उल्लेख गर्दै संसद चलाउन भुमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रकाशित मिति २०८३ जेठ २० गते बुधबार ०४:३५
हजुरको प्रतिक्रिया