पोखरा । बालबालिकाको क्षेत्रमा क्रियाशिल संस्था राइट फर चिड्रेनले ३ वटा परियोजना सार्वजनिक गरेको छ ।
सरकारी विद्यालयका प्रध्यानाध्यापकहरु, सरकारी निकायका प्रतिनिधि तथा सरोकारवाला निकायका व्यक्तित्वहरुको सहभागितामा पोखरामा एक कार्यक्रमको आयोजना गर्दै तीन परियोजना सार्वजनिक गरेको हो ।
‘प्रयास २’, सामुदायिक शिक्षा र बालमैत्री सहयोग (सिइसिएसपी) र ‘अस्पायर’ गरी तिन वटा परियोजनाका लागि समाज कल्याण परिषद्बाट अनुमति प्राप्त गरिसकेको राइट फर चिड्रेनका कार्यकारी अधिकृत अनिल पौडेलले बताए ।
उनले ‘प्रयास २’ परियोजना गत २०८२ सालको वैशाखबाट सुरु भइसकेको बताउदै आगामी २०८७ सालमा सकिने जानकारी दिए ।
५ वर्षे सो परियोजनाका लागि १२ करोड १४ लाख ४० हजार ७१ रुपैयाँ बजेटको व्यवस्थापन भएको पौडेलले जानकारी दिए ।
उक्त परियोजना पोखरा महानगरपालिकाको वडा १४, १५, १७, २३, २५, २९ र ३२ मा सञ्चालित छ ।
सो परियोजनाबाट एइएसमा काम गर्ने बालबालिका, वयस्क महिला तथा विपन्न वर्ग लाभांवित हुने पौडेलले जानकारी दिए ।
यस्तै अर्काे परियोजना ‘सामुदायिक शिक्षा र बालमैत्री सहयोग’ (सिइसिएसपी) का लागि ३४ लाख ९८ हजार २ सय रुपैयाँ बजेट टिएफसिएफले व्यवस्थापन गरेको छ ।
१ वर्षे उक्त परियोजना पोखरा महानगरपालिकाका वडा २३, २१ र त्यहाँका ५ वटा विद्यालयमा सञ्चालन हुनेछ । १ वर्षसम्म सञ्चालन हुने सो परियोजनाबाट विद्यार्थीहरु लाभांवित हुने राइट फर चिड्रेनका अनुगमन तथा व्यवस्थापन संयोजक नवीन सुवेदीले बताए ।
उक्त परियोजनाले लक्षित विद्यालयहरुको शैक्षिक अवस्थामा सुधार ल्याउने र समुदायमा बालमैशी र शैक्षिक वातावरणमा सुधार ल्याउने संस्थाको अपेक्षा छ ।
यस्तै तेस्रो परियोजनाका रुपमा ‘आर्ट एण्ड स्पोर्टस् प्रमोसन फर इन्क्ल्युजन, राइट एण्ड इम्पावरमेन्ट’ (अस्पायर) अघि सारेको छ । १ वर्षे परियोजनाको बजेट ६५ लाख ८१ हजार ५ सय ५२ रुपैयाँ रहेको छ ।
सो परियोजना पोखरा महानगरपालिका भित्रका तलबराही मावि, जानकी मावि, सिद्ध मावि र छोरेपाटन माविमा सञ्चालन हुनेछ ।
विद्यायल, बालबालिका, वयष्क महिला, विपन्न वर्ग तथा समुदायलाई लक्षित गरी विविध कार्यक्रम तथा तालिम सञ्चालन गरिने सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार परियोजना अन्तरगत विद्यालयमा नियमित खेलकुद गतिविधि, दौड तथा विभिन्न खेलकुद प्रतियोगिताहरुको आयोजना, छात्राहरुका लागि आत्मरक्षा तालिम, शिक्षक तथा विद्यार्थीहरुका लागि चित्रकला कार्यशाला, कला थेरापी तालिम तथा चित्रकला समाग्री सहयोग र आवासीय खेलकुद प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन हुनेछ ।
प्रकाशित मिति २०८३ जेठ २१ गते बिहीबार ०७:५८




