२०८३ असोज २३ गते शुक्रबार

विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट

विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ २६ गते मंगलबार ०४:२१

अध्यक्ष दाहालले सरकारका तर्फबाट पनि समस्याको समाधानमा तदारुकता देखिनुपर्ने र राजनीतिक दलहरूले थप जिम्मेवार तथा सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

पोखरा ।

विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण राष्ट्रिय सभाको मंगलवारको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।

लगातारको अवरोधका कारण मंगलबारको बैठक पनि कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित भएको हो । राष्ट्रिय सभाको अर्को बैठक जेठ २८ गते बिहीबार दिउँसो १ः१५ बजे बस्ने तय गरिएको छ ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सरकार र राजनीतिक दल दुवैको भुमिकाप्रति असन्तुष्टि जनाएका छन् ।

अध्यक्ष दाहालले देशको राजनीतिक अवस्था जनताले अनुभूति गर्ने गरी समाधान खोज्न सरकार र दलहरूबीच आवश्यक परामर्श हुन नसकेको टिप्पणी गरे ।

उनले संसदमा नारा लगाउने, आफ्ना धारणा राख्ने र बैठक स्थगित हुने क्रम दोहोरिनु उपयुक्त नभएको बताए ।

अध्यक्ष दाहालले सरकारका तर्फबाट पनि समस्याको समाधानमा तदारुकता देखिनुपर्ने र राजनीतिक दलहरूले थप जिम्मेवार तथा सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘सिंगो देशको राजनितिक परिस्थिति अहिले जसरी विकास भएको छ, जनताले अनुभुत हुनेगरी न सरकारको पक्षबाट दलहरुसं परामर्श न दलहरुले सरकारसंग परामर्श गरेको छ । सदनमा आउने नाराबाजी गर्ने, आफ्ना कुरा राख्ने, सभामुख वा अध्यक्षले बैठक स्थगित भयो भन्ने अनि जाने भोली फेरि कुन बेला बोलाएको छ, त्यही बेला आउने । यो भएन, सरकारपक्ष माननीयमन्त्रीज्यूको पनि म ध्यानाकर्षण गराउन चाहन्छु । सरकारको पक्षबाट पनि यो विषयमा तदारुकताका साथ नेपाली जनताले अनुभुत गर्नेगरि समस्या हल गर्न हुनुप¥यो । यो देश त दलहरुको पनि हो, दलहरुले पनि यसमा अलि सचेत भएर अगाडी बढ्नुप¥यो भन्ने मेरो विशेष आग्रह छ । यहाँबाट रुलिङ गर्ने भन्दापनि यो समस्या सबैको साझा समस्या हो भन्ने कुराको अनुभुत सबैले गर्नुपर्छ । हाम्रा सभाहरु त बन्दक बने बने, सिंगो देश र नेपाली जनता नै वन्धक बजेजस्तो देखिने भयो, यो खालको स्थिति अन्त्य गरौँ ।’

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा दिएको सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै संसदको कारबाही अवरुद्ध गर्दै आएका छन् ।

प्रकाशित मिति २०८३ जेठ २६ गते मंगलबार ०४:२१
हजुरको प्रतिक्रिया