२०८३ साउन २१ गते बिहीबार

भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा

भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ २९ गते शुक्रबार ०५:०१

नेता थापाले फागुन २१ पछि रास्वपासहित बनेको वर्तमान सरकार स्वेच्छाचारिता र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए । सरकारले नागरिकको संगठित हुन पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको र सुकुम्बासीहरूमाथि दमन गरेको उनले उल्लेख गरे ।
वर्तमान सरकारको गतिविधिले गणतन्त्र र लोकतान्त्रिक संस्थाहरूको मर्यादामाथि प्रहार भएको उनको भनाइ छ ।

पोखरा ।

नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले पार्टीका कमजोरीहरूलाई सुधार्दै नयाँ विचार र नीतिका आधारमा पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

नेता थापाले वर्तमान राजनीतिक परिस्थितिमा विपक्षीहरूले प्राप्त गरेको सफलतालाई ‘अस्थायी’ संज्ञा दिँदै एमालेको विजय सुनिश्चित गर्न संगठनलाई नयाँ आधारमा उभ्याउनुपर्नेमा जोड दिए ।

आफूहरुको कमजोरीका कारण विपक्षीहरुल अस्थायी सफलता प्राप्त गरेको उनले बताए । अब यसलाई चिर्न नयाँ नीति र विचारका साथ अघि बढ्नु अपरिहार्य भएको जिकिर उनको छ ।

उनले भने, ‘अहिले अस्थायी रूपमा उनीहरू सफल भएपनि हाम्रा कमजोरीहरूलाई टेकेर उनीहरू सफल भएका हुन् । तर यो सफलता अस्थायी हो । त्यसकारण यो सफलतालाई अस्थायी बनाउनका निम्ति हामीले पार्टीलाई नयाँ आधारमा, नयाँ विचार र नयाँ नीतिको आधारमा पुनर्गठन गर्नुपर्छ र अगाडि बढ्नुपर्छ । यसरी मात्रै हामीले फेरि विजय प्राप्त गर्नसक्छौँ । अहिले नेपालमा तपाईंले यो प्रतिक्रान्ति र प्रतिगमनपछिको जुन स्थिति देखिरहनुभएको छ, यो हामीले पहिल्यै पनि भनेका थियौँ । हामीले भदौ २४ को परिघटनाको समीक्षा गर्दा के भनेका थियौँ भने, यो एउटा प्रतिगमन हो, यो क्रान्ति होइन । यो एउटा असंवैधानिक कदम हो, त्यसकारण यो कुनै संवैधानिक कदम होइन ।’

नेता थापाले फागुन २१ पछि रास्वपासहित बनेको वर्तमान सरकार स्वेच्छाचारिता र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए । सरकारले नागरिकको संगठित हुन पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको र सुकुम्बासीहरूमाथि दमन गरेको उनले उल्लेख गरे ।
वर्तमान सरकारको गतिविधिले गणतन्त्र र लोकतान्त्रिक संस्थाहरूको मर्यादामाथि प्रहार भएको उनको भनाइ छ ।

सीमा विवाद र राष्ट्रियताका सवालमा प्रधानमन्त्रीको हालैको अभिव्यक्तिलाई थापाले राष्ट्रिय आत्मसमर्पणवादको संज्ञा दिए । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिको हालैको भारत भ्रमण र त्यहाँ उनलाई दिइएको उच्चस्तरीय स्वागतप्रति पनि थापाले संशय व्यक्त गरे ।

उनले भने, ‘अहिले फागुन २१ पछि जुन रास्वपाको सरकार स्थापित भएको छ, तपाईंले दिनदिनै हेर्नुभयो भने यो कुन दिशातिर गइरहेको छ ? यसले के–के लागू गर्दैछ भने यसले स्वेच्छाचारिता र अधिनायकवाद लागू गर्दैछ । यसले जनताको संगठित हुने मौलिक अधिकार खोस्ने प्रयास गर्दैछ । यसले सुकुम्बासीहरूलाई दमन गर्दैछ, हामीले त्यो देखिरहेका छौँ । यसले लोकतान्त्रिक संस्थाहरूको धज्जी उडाउँदैछ र गणतन्त्रको समेत धज्जी उडाउँदैछ । राष्ट्रपतिले सम्बोधन गरिरहँदा देशका प्रधानमन्त्री बीचमै उठेर हिँड्नुको राजनीतिक अर्थ के हो ? यसको अर्थ उनीहरू गणतन्त्रलाई समाप्त पार्न चाहन्छन् र गणतन्त्रप्रति उपेक्षा गरिरहेका छन् भन्ने हो । पछिल्लो घटनाक्रम हेर्दा देशका प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको छ भन्ने वक्तव्य दिए । यसको राजनीतिक अर्थ के हो ? यसको राजनीतिक अर्थ भारतलाई एउटा प्रस्ताव गर्नु हो–यदि तिमीहरूले मेरो सत्ता टिकाउन मद्दत गर्छौ भने हामीले मिचेको भनिएको जग्गा फिर्ता गर्न तयार छौँ । हामी साथीभाइ हौँ, बसेर कुरा गरौँ र जग्गा फिर्ता गरौँ भन्ने सन्देश दिन खोजिएको देखिन्छ । राजनीतिक भाषामा भन्ने हो भने यो राष्ट्रिय आत्मसमर्पणवाद हो, सत्ता टिकाउनका निम्ति गरिएको प्रयास हो । यदि त्यसो हुँदैन भने हामी बेलायतलाई ल्याएर तिमीमाथि दबाब दिन्छौँ, सीमा विवाद समाधानका लागि तेस्रो शक्तिलाई सहभागी बनाउँछौँ भन्ने सन्देश पनि देखिन्छ । त्यसो गर्नुको सट्टा बरु भारतलाई जग्गा फिर्ता दिन्छौँ भन्ने आशय व्यक्त गरिएको जस्तो देखिन्छ । यही अवस्थामा रास्वपाका सभापति भारत जानुभयो । त्यहाँ भारत सरकार तथा सत्तारूढ दलले उहाँलाई जसरी स्वागत गरे, त्यो तपाईंले पनि देख्नुभएको छ। एउटा प्रधानमन्त्री वा राष्ट्रपतिलाई गरिने स्तरको स्वागत उहाँलाई गरियो । यसको राजनीतिक अर्थ के हो ? सामान्यतया यस्तो हुन नपर्ने हो । एउटा पार्टीको अध्यक्षलाई प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार तथा सत्तारूढ पार्टीका ठूला नेताहरूले भव्य स्वागत गरे। १० करोडभन्दा बढी सदस्य भएको पार्टीका नेताहरूले गरेको त्यो स्वागत हामी सबैले टेलिभिजनमा देख्यौँ । यसको राजनीतिक अर्थ के हो भने उनीहरू अहिलेको विद्यमान नेतृत्वसँग सन्तुष्ट छैनन् र नेपालको नेतृत्वमा अरू कसैलाई स्थापित गर्न मद्दत गर्न चाहन्छन् भन्ने संकेत देखिन्छ ।’

भारतको सत्तारुढ दलले एक पार्टी अध्यक्षलाई प्रधानमन्त्री वा राष्ट्रपति सरहको सम्मान दिनुको राजनीतिक अर्थ गम्भीर हुने उनको तर्क थियो । वाह्य शक्तिहरू नेपालको वर्तमान नेतृत्वसँग सन्तुष्ट नरहेको र नयाँ नेतृत्व स्थापित गर्न इच्छुक देखिएको थापाले दाबी गरे ।

प्रकाशित मिति २०८३ जेठ २९ गते शुक्रबार ०५:०१
हजुरको प्रतिक्रिया