काठमाडौं ।
प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद टुकाभद्रा हमालले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिनुभएको अभिव्यक्ति नसच्चिएसम्म आफूहरुको विरोध प्रदर्शन जारी रहने बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त अडान राखेका हुन् । सांसद हमालले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन पनि सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका थिए । उनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपक्ष दलहरुको पनि विगतका काण्डहरुको फाइल खोल्छु भनि धम्क्याउने गरेको भन्दै आपत्ति जनाउँदै अर्थमन्त्री वाग्लेलाई सांसद हमालले विपक्ष दलहरुलाई विगतको फाईल खोलेर कारबाही गर्न पनि चुनौति दिए ।
उनले भने, ‘प्रधानमन्त्रीले आफनो अभिव्यक्तिबारे संसदमा आएर जवाफ दिनुपर्दछ । अनि उहाँको यो अभिव्यक्ति रेकर्डबाट हटाइनुपर्दछ । अनि मात्रै हाम्रो आन्दोलन रोकिने छ । नत्रभने हाम्रो आन्दोलन जारी रहनेछ । र, माननीय अर्थमन्त्रीज्यूले आफनो जवाफ दिने क्रममा प्रतिपक्ष दलहरुलाई थर्काउने, धम्क्याउने गरिराख्नु भएको छ । हामी के भन्छौँ भने सरकार हाम्रो पनि हो । प्रतिपक्षको पनि हो । यसकारण सरकार मात्रै सत्तापक्षको हो भन्ने सोचाई हो भने यो सच्याईनु पर्दछ । यसकारण म के भन्न चाहन्छु भने माननीय अर्थमन्त्रीज्यूको जुन अभिव्यक्ति दिनुभएको छ । त्यो अभिव्यक्तिप्रति हाम्रो आपत्ति छ ।’
सांसद हमालले सरकारले विपक्ष दलहरुलाई धम्क्याउने काम गर्नु उचित नभएको पनि जिकिर गरे ।
प्रकाशित मिति २०८३ असार २ गते मंगलबार ०२:१३




