काठमाडौं ।
प्रतिनिधि सभाका सांसदहरुले भारतीय सीमावर्ती क्षेत्रमा देखिएको डुबानको स्थायी समाधान गर्न सरकारसँग माग गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले मध्यपूर्वमा युद्ध विराम हुँदा पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरेका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद नरेन्द्रकुमार गुप्ताले मध्यपूर्वमा युद्धविराम हुँदा पनि नेपालको पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । उनले नेपालीहरुले थेग्न नसक्ने खालको पेट्रोलियम पदार्थको मूल्य अन्तराष्ट्रिय बजारमा पनि घटेकाले नेपालले पनि तत्काल घटाउन सरकारसँग माग राखे ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद साहजान खातुनले गौरलगायतका भारतीय सीमावर्ती क्षेत्रमा भारतीय पक्षले एकतर्फी बाँध निर्माण गर्दा सीमावर्ती क्षेत्रका नागरिक डुबानको मारमा परेको भन्दै त्यसको स्थायी समाधान गर्न सरकारलाई सचेत गराइन् । उनले भारतीय पक्षले नेपालको अनुमति बिना नै एकतर्फी रुपमा बाँध निर्माण गरेर नेपाली भूमि डुबाउँदा पनि सरकारले यसबारेमा कुनै पहल गर्न नसकेको जिकिर गर्दै असन्तुष्टि व्यक्त गरिन् ।
एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले लागुऔषध नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन् । उनले विद्यालय, विश्वविद्यालय अध्ययन गर्ने युवाहरुको लागुऔषधको दुव्र्यसनीमा फस्ने क्रम बढ्दै जाँदा पनि सरकारले त्यसको नियन्त्रणका लागि पहल गर्न नसकेको बताइन् । सांसद खातुनले लागुऔषध दुव्र्यसनीमा फसेकाहरुले मुलुकमा हत्या, हिंसा, चोरी लगायतका गम्भिर अपराधका घटना घटाएकाले सरकारले यसको नियन्त्रण गर्ने कामलाई विशेष रुपमा अघि बढाउनुपर्ने बताइन् ।
सांसदहरुले विपद् व्यवस्थापन पनि सावधानीपूर्वक काम अघि बढाउन सरकारसँग आग्रह गरेका छन ।
प्रकाशित मिति २०८३ असार २ गते मंगलबार ०२:२८




