२०८३ असोज २३ गते शुक्रबार

सरकारले चालु संसद अधिवेशनमा नै संघीयतासम्बन्धि सबै ऐनहरु पारित हुनेगरी काम गर्नुपर्दछः काँग्रेस सांसद ढुंगाना

सरकारले चालु संसद अधिवेशनमा नै संघीयतासम्बन्धि सबै ऐनहरु पारित हुनेगरी काम गर्नुपर्दछः काँग्रेस सांसद ढुंगाना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार २ गते मंगलबार ०४:५४

सांसद ढुंगानाले सरकारले कानून निर्माण गर्ने विषयमा चासो नलिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । सरकार अध्यादेशमार्फत चल्ने मनस्थितिमा रहेकाले कानून निर्माणको कामले गति पाउने अवस्था नरहेको सांसद ढुंगानाको जिकिर थियो ।

पोखरा ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले संसदको चालु अधिवेशनमा संघीयता सम्बन्धि सबै कानूनहरु पारित गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । सांसद ढुंगानाले सरकारले कानून निर्माण गर्ने विषयमा चासो नलिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

सरकार अध्यादेशमार्फत चल्ने मनस्थितिमा रहेकाले कानून निर्माणको कामले गति पाउने अवस्था नरहेको सांसद ढुंगानाको जिकिर थियो ।

उनले सरकारको कारण मुलुकमा बजेटमाथिको छलफल पनि सोचे अनुसार हुन नसकेको दाबी समेत गरे ।

सांसद ढुंगानाले भने,‘संघीयताका लागि यो यो ऐन अति आवश्यक छ भनेर समितिले यस अघि नै भनिसकेको छ । त्यसलाई अहिलेको चालू अधिवेशनमा नै अथवा यही अवधिमा नै पास हुनु पर्दछ । किनभने त्यसपछि संसद दशैंसम्म बन्द होला । यही अवधिमा फाष्टट्रयाकमा सरकारले ल्याओस । र पास गरोस् भन्ने मेरो आग्रह हो । तर सरकार अध्यादेशमार्फत देश चलाउने मनस्थितिमा छ । त्यसकारण सरकारले ऐनहरु निर्माणको काममा चासो देखाएको देखिदैन । दैनिक कामपनि जति संसदमा हुनुपर्दथ्यो, त्यो पनि पूर्ण हुन सकिराखेको छैन । हामीले बजेटबारे पनि राम्रोसँग छलफल गर्न पाइरहेका छैनौँ ।’

सांसद ढुंगानाले संसदीय समितिहरुले पटक पटक सचेत गराउँदा पनि सरकारले संघीयता सम्बन्धि कानून निर्माणमा चासो नदिएको पनि स्मरण गराए ।

प्रकाशित मिति २०८३ असार २ गते मंगलबार ०४:५४
हजुरको प्रतिक्रिया