२०८३ साउन २१ गते बिहीबार

दुग्ध पदार्थको निर्यातको लागि सरकारी घोषणा मात्र पर्याप्त छैन, उद्योगीलाई उचित वातावरण चाहिन्छः व्यवसायी सुमित केडिया

दुग्ध पदार्थको निर्यातको लागि सरकारी घोषणा मात्र पर्याप्त छैन, उद्योगीलाई उचित वातावरण चाहिन्छः व्यवसायी सुमित केडिया

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार ४ गते बिहीबार ०६:४२

उनले नेपालमा पाइने अधिकांश गाईभैंसीबाट दैनिक तीनदेखि चार लिटरभन्दा बढी दूध उत्पादन नहुने भएकाले व्यावसायिक दुग्ध उत्पादन महँगो पर्ने अवस्था रहेको बताए । उनले विदेशबाट गाई ल्याउनको सरकारको नीति वाधक बनेको भन्दै यसको लागि सहज वातावरण बनाउनुपर्ने बताए ।

पोखरा ।

सीताराम गोकुल मिल्क्सका सञ्चालक सुमित केडियाले दुग्धजन्य पदार्थको निर्यात बढाउने सरकारी योजनालाई सफल बनाउन उद्योगी–व्यवसायीका लागि आवश्यक नीतिगत र व्यावहारिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले दुग्ध सामग्री निर्यात गर्ने घोषणा मात्रै गरेर नपुग्ने भन्दै उद्योगीहरूसँग प्रत्यक्ष छलफल गरी निर्यातमैत्री वातावरण तयार गर्नुपर्ने बताए ।

उनले दुग्धजन्य पदार्थको निर्यात प्रक्रियामा देखिएका व्यावहारिक समस्या र सहजताका विषयमा व्यवसायीहरू सरकारसँग खुला छलफल गर्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि उपयुक्त संयन्त्र र वातावरण आवश्यक रहेको बताए ।

सीताराम गोकुल मिल्क्सले निकट भविष्यमै गाई फार्म सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिँदै उच्च उत्पादन दिने गाईको अभाव मुख्य चुनौती बनेको उनले बताए ।

उनले नेपालमा पाइने अधिकांश गाईभैंसीबाट दैनिक तीनदेखि चार लिटरभन्दा बढी दूध उत्पादन नहुने भएकाले व्यावसायिक दुग्ध उत्पादन महँगो पर्ने अवस्था रहेको बताए । उनले विदेशबाट गाई ल्याउनको सरकारको नीति वाधक बनेको भन्दै यसको लागि सहज वातावरण बनाउनुपर्ने बताए ।

उनले भने, ‘सरकारले दुग्ध सामग्रि नियार्त गर्ने भनेर मात्र हुँदैन । यसको लागि हामी उद्योगीको लागि सरकारले उचित वातावरण पनि बनाइदिनुपर्यो । हामी व्यवसायीहरुसँग सरकारले बसेर यसबारेमा छलफल गर्न आवश्यक छ । हामी भोगाईमा रहेका व्यवासायी निर्यातमा कहाँ कहाँ सहज छ भन्ने विषयमा छलफल गर्नको लागि तयार छौँ । तर त्यसको लागि बस्ने वातावरण पनि हुनुपर्यो जस्तो मलाई लाग्छ । हामी अब चाँडै नै गाई फार्म समेत शुरु गर्न गइरहेका छौँ । हामीलाई अहिले समस्या गाई कहाँबाट ल्याउने भन्ने कुरामा समस्या परिरहेको छ । किनभने गाईको आयात गर्दा ल्याउन दिँदैन । नेपालका गाईभैंसीले तीन चार लिटरभन्दा बढी दुध दिँदैन । यस्तो अवस्थामा गाई राख्यो भने हामी निकै महंगोमा पर्छौैं । त्यसकारण गाईं कहाँबाट ल्याउने भन्ने विषयमा हामीलाई थोरै समय लागिरहेको छ ।’

उनले दुग्ध क्षेत्रको उत्पादकत्व वृद्धि र निर्यात प्रवद्र्धनका लागि उच्च उत्पादनशील पशु आयात, आधुनिक फार्मिङ तथा उद्योगीमैत्री नीति आवश्यक रहेको बताए ।

प्रकाशित मिति २०८३ असार ४ गते बिहीबार ०६:४२
हजुरको प्रतिक्रिया