पोखरा, असार ५ ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरको १९औं नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गरेकी हुन्।
यसअघि बिहीबार नगर प्रमुख धनराज आचार्यले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। महानगरले समुन्नत पर्यटकीय पोखरा निर्माणलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम ल्याएको जनाएको छ। कुल विनियोजनमध्ये चालुतर्फ ५५.१ प्रतिशत र पुँजीगततर्फ ४४.९ प्रतिशत हिस्सा छुट्याइएको छ।
बजेट कार्यान्वयनका लागि संघीय सरकारबाट वित्तीय हस्तान्तरणमार्फत ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसअन्तर्गत सशर्त, विशेष, पूरक तथा समानीकरण अनुदान समावेश छन्। गण्डकी प्रदेश सरकारबाट पनि विभिन्न शीर्षकमा ९ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
महानगरले आन्तरिक तथा अन्य स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ। संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट र स्थानीय स्रोतसमेत जोड्दा आगामी वर्ष कुल आन्तरिक आय ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
नयाँ बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि महानगरले ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको थियो।
यता, चालु आर्थिक वर्षको समीक्षा गर्दा विकास खर्चतर्फको प्रगति कमजोर देखिएको छ। महानगरका अनुसार जेठ मसान्तसम्म कुल विनियोजित बजेटको ४० प्रतिशत मात्र खर्च भएको छ। चालुतर्फ भने ६१.७ प्रतिशत खर्च भएको भए पनि पुँजीगततर्फको खर्च २४.२ प्रतिशतमा सीमित रहेको छ।
राजस्व संकलनको अवस्था पनि अपेक्षाअनुसार देखिएको छैन। चालु आर्थिक वर्षका लागि आन्तरिक आय ४ अर्ब ६१ करोड ४० लाख ५४ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा जेठ मसान्तसम्म २ अर्ब १२ करोड ३८ लाख रुपैयाँ मात्रै उठेको छ, जुन लक्ष्यको ४६.०२ प्रतिशत हो।
संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणतर्फ लक्ष्यको ७६.५ प्रतिशत रकम प्राप्त भइसकेको छ भने गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण शतप्रतिशत संकलन भएको महानगरले जनाएको छ।
प्रकाशित मिति २०८३ असार ५ गते शुक्रबार ०६:०५




