मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
पोखरा ।
चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा एक दिन ढिलो गरी समापन हुने भएको छ ।
प्रतिनिधिको अपेक्षित संख्याभन्दा बढी सहभागिता र व्यवस्थापकीय चुनौतीका कारण महाधिवेशन भदौ १० गतेसम्म लम्बिने देखिएको हो ।
महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाका सांसद एवं नेता मनिष झाले शुरुमा ३ हजार प्रतिनिधिको आँकलन गरिए पनि हाल ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भएको र यो सङ्ख्या ४ हजार ५ सयसम्म पुग्नसक्ने बताए ।
उनकाअनुसार प्रवासबाट समेत अपेक्षितभन्दा चार गुणा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ । उनले पहिलो महाधिवेशन भएकाले केही व्यवस्थापकीय कमजोरी र कार्यविधिको अभाव रहेको स्वीकार गर्दै यसलाई सिकाइको रूपमा लिएको बताए ।
पार्टीभित्र सहमतिको प्रयास भइरहेको र सहमति नभए लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमा जाने तयारी समेत गरिएको छ ।
यसैबीच रास्वपा प्रवक्ता झाले महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । बन्द सत्रस्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले आफू मानसिक रुपमा महामन्त्रीका लागि तयार भइसकेको बताएका हुन् ।
साथै, परिणाम जेसुकै आए पनि आफू महामन्त्री भिड्ने पनि उनले बताए । आफ्नो उम्मेदवारी महामन्त्रीमा हुने विषयमा मिडियामा आएका चर्चाहरूमा आफ्नो स्वीकारोक्ति रहेको उनको भनाइ थियो ।
उनले आफूलाई यो देशको प्रधानमन्त्री वा पार्टीको सभापति हुन्छु भन्ने अपेक्षा नरहेको पनि सुनाए ।
उनले महामन्त्री पदलाई ठूलो जिम्मेवारी र जोखिमका रूपमा व्याख्या गर्दै आफूले पदसँग न्याय गर्नसक्ने आत्मविश्वासका साथ प्रतिष्पर्धामा उत्रने निर्णय गरेको बताए ।




