२०८३ साउन २१ गते बिहीबार

मादी गाउँपालिकाद्वारा ६५ करोड १२ लाखको बजेट सार्वजनिक

मादी गाउँपालिकाद्वारा ६५ करोड १२ लाखको बजेट सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार ८ गते सोमबार ०५:३९

नेपाल सरकारको नियम अनुसार तालिम तथा अनुदान जस्ता पूँजी निर्माण गर्ने कार्यक्रमहरू चालु खर्चमै राख्नुपर्ने र संघीय सरकारबाट प्राप्त २७ करोड १८ लाख रुपैयाँको सशर्त अनुदान पनि चालु कार्यक्रममै समावेश भएकाले चालु बजेट बढी देखिएको उनले स्पष्ट पारिन् ।

पोखरा ।

कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि कुल ६५ करोड १२ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष कल्पना गुरुङले गाउँसभाको १९औं अधिवेशनमार्फत बजेट सार्वजनिक गरेकी हुन् ।

उनले सार्वजनिक गरेको बजेट विवरण अनुसार कुल बजेटमध्ये पूँजीगततर्फ १८ करोड १४ लाख ९० हजार रुपैयाँ र चालुतर्फ ४६ करोड ९७ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

नेपाल सरकारको नियम अनुसार तालिम तथा अनुदान जस्ता पूँजी निर्माण गर्ने कार्यक्रमहरू चालु खर्चमै राख्नुपर्ने र संघीय सरकारबाट प्राप्त २७ करोड १८ लाख रुपैयाँको सशर्त अनुदान पनि चालु कार्यक्रममै समावेश भएकाले चालु बजेट बढी देखिएको उनले स्पष्ट पारिन् ।

बजेटका लागि सङ्घीय समानीकरण अनुदानबाट १० करोड २६ लाख, सङ्घीय सशर्त अनुदानबाट २८ करोड २१ लाख र संघीय राजस्व बाँडफाँडबाट ११ करोड ८२ लाख ९८ हजार रुपैयाँ स्रोत अनुमान गरिएको छ ।

त्यस्तै, आन्तरिक आयबाट १ करोड ११ लाख ९६ हजार ४ सय २४ रुपैयाँ, रोयल्टीबाट २ करोड ६० लाख र अनुमानित मौज्दातबाट ६ करोड ३१ लाख २० हजार रुपैयाँ संकलन हुने बजेटमा उल्लेख छ ।

बजेट सार्वजनिक गर्दै उपाध्यक्ष गुरुङले सिलिङ बमोजिमको स्रोत अनुमान र विनियोजनलाई तुलना गर्दा कुल विनियोजित बजेट उपलब्ध स्रोतको तुलनामा केही रूपमा न्यून देखिएको बताइन् ।

गाउँपालिकाले अगाडि सारेका महत्वाकाँक्षी योजनाहरूमा बजेटको ठूलो धनराशि दायित्वको रूपमा रहेकाले सिर्जित दायित्व बहन गर्ने प्रयास गर्दा कुल आयको तुलनामा व्ययभार बढ्न गएको समेत उनले सभालाई जानकारी गराइन् ।

प्रकाशित मिति २०८३ असार ८ गते सोमबार ०५:३९
हजुरको प्रतिक्रिया