काठमाडौं ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाउने योजना बनाएको दाबी गरेका छन् ।
मंगलवार काठमाडौंमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धि उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै उनले उक्त कुरा स्पष्ट पारेका हुन् । सञ्चारमन्त्री तिमिल्सिनाले सरकारी क्षेत्रले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्दा नै जनतालाई प्रभावकारी सेवा दिन सकिन्छ भन्ने कुरामा सरकार जानकार रहेको बताए । उनले हुलाक सेवालाई पनि सरकारले सार्वजनिक–निजी साझेदारीमा अघि बढाउन चाहेको पनि उल्लेख गरे । सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले हुलाक सेवाको कामलाई प्राथमिकताका साथ अघि बढाएको र त्यसमा निकै राम्रो प्रगति भएको जिकीर पनि गरे । उनले हुलाकसँग सम्बन्धित नीतिगत र संरचनामा नै पुनर्संरचना गर्नुपर्ने अवस्था रहेको पनि बताए ।
त्यस अवसरमा सञ्चारमन्त्री तिमिल्सिनाले हुलाक सेवालाई गर्व गर्न लायक हुने गरी काम गर्न पनि सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन दिए ।
प्रकाशित मिति २०८३ असार १६ गते मंगलबार ०२:१२




