२०८३ असोज २३ गते शुक्रबार

मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा

मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार १७ गते बुधबार ११:०२

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय बनेसँगै बुधवार र बिहीवार देशभरको मौसम थप प्रतिकूल रहने अनुमान गरिएको छ । बंगालको खाडी क्षेत्रमा विकसित न्युनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढिरहेको कारण मनसुनी...

काठमाडौं ।

देशभर मनसुनी प्रणाली सक्रिय बनेसँगै बुधवार र बिहीवार देशभरको मौसम थप प्रतिकूल रहने अनुमान गरिएको छ ।

बंगालको खाडी क्षेत्रमा विकसित न्युनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढिरहेको कारण मनसुनी गतिविधि थप सशक्त बनेको र वर्षाको मात्रा बढ्ने अवस्था सिर्जना भएको मौसमविद्हरुले बताएका छन् । मनसुनजन्य विपद्को सम्भावित घटनाको जोखिम कम गर्न तथा प्रतिकार्यको लागि सरकारका संयन्त्रहरु सक्रियताका साथ काम गरिरहेका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले विपद्को समयमा तत्काल उद्धार टोली पुग्न समस्या हुने अति संवेदनशील र जोखिमयुक्त स्थानहरूको पहिचान गरी देशका ५४ स्थानमा ‘अस्थायी मनसुन प्रतिकार्य वेस’ स्थापना गरेको सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका प्रवक्ता नेत्रबहादुर कार्कीले बताए । उनका अनुसार वर्षाजन्य विपद् हुने १६ वटा अति जोखिमयुक्त स्थानहरूमा जनशक्ति र स्रोतसाधनसहितका विपद् व्यवस्थापनका लागि स्थायी वेसहरू स्थापना गरिएको छ । साथै विपद्पछिको उद्धार तथा राहतका लागि गोताखोरसहितको टोलीलाई आवश्यक उपकरणसहित देशभरका जोखिमयुक्त स्थानमा खटाइएको कार्कीले जानकारी दिए । विपद् प्रतिकार्य एवं व्यवस्थापनका लागि तीन वटै तहका सरकार एवं राज्यका सबै संयन्त्रहरुबीच प्रभावकारी रुपमा सहकार्य भइरहेको समेत उनले बताए ।

विपद् व्यवस्थापनको लागि प्रविधिमा आधारित सूचना प्रणालीः

विपद्सम्बन्धी सूचना प्राप्त गर्ने उद्देश्यले सशस्त्र प्रहरीले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । यस प्रणालीमार्फत समुदायबाट प्राप्त सूचना बाहिनी तहको अपरेसनल रुममा तत्काल पुग्ने र उद्धार टोली परिचालन हुने व्यवस्था मिलाइएको सूचना अधिकारी कार्कीले बताए । उक्त प्रणालीमा रहेको विपद्को कुनैपनि प्रकारमा थिच्ने बित्तिकै लोकेसनसहित सूचना प्राप्त हुने र नजिकको बाहिनीमा कार्यरत कर्मचारी आउने उनको भनाइ छ । कार्कीले जोखिममा परेका नागरिकका लागि केन्द्र तथा प्रत्येक बाहिनीमा १११४ हटलाइन सेवा सञ्चालनमा ल्याइएको समेत बताए ।

मनसुनजन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना’ कार्यान्वयनलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

प्रकाशित मिति २०८३ असार १७ गते बुधबार ११:०२
हजुरको प्रतिक्रिया