काठमाडौं ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले चुनौती र अवरोधहरूलाई चिर्दै आफ्ना उद्देश्य प्राप्तिको दिशामा निरन्तर अगाडि बढ्ने बताएका छन् ।
ललितपुरमा शनिवार आयोजित ‘नेकपा एमाले पार्टी जागरण अभियान’ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले नेपाली समाजको जागरण र रूपान्तरणमा पार्टीले असाधारण र अद्वितीय भुमिका निर्वाह गरेको दाबी गरे । जनतालाई परिवर्तनको वास्तविक अर्थ बुझाउन र मुलुकलाई सही दिशामा नेतृत्व गर्न एमाले सफल भएको उनको भनाइ छ । अध्यक्ष ओलीले पार्टीले विगतदेखि नै विभिन्न किसिमका प्रहार, आक्रमण र कुप्रचारहरू झेल्दै आएको स्मरण गरे । राजनीतिक आन्दोलनलाई नदीको बहावसँग तुलना गर्दै उनले परिवर्तनको अभियान सधैँ सोझो र सहज मार्गबाट मात्र अघि नबढ्ने उल्लेख गरे । नदीले विभिन्न घुम्ती र अवरोधहरू छिचोल्दै आफ्नो मार्ग तय गरेझैँ राजनीतिक आन्दोलनले पनि अनेकौँ मोडहरू पार गर्नुपर्ने उनले बताए ।
पार्टीले अहिले केही गम्भीर धक्का र चुनौतीहरू सामना गर्नुपरिरहेको स्वीकार गर्दै अध्यक्ष ओलीले यस्ता परिस्थितिबाट विचलित नभई अघि बढ्न नेता तथा कार्यकर्ताहरूलाई आह्वान समेत गरे ।
प्रकाशित मिति २०८३ असार २० गते शनिबार ०८:०५




