काठमाडौं ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आएको आरोप लगाएकी छन् ।
आईतवार ललितपुरमा महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारबाट अभिव्यक्ति स्वतन्त्रता संकुचित गरिएको आरोप लगाएकी हुन् । उनले संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको भएपनि नयाँ सरकार बनेको सय दिनमा सरकारबाटै सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन नसकेको टिप्पणी गरिन् । पत्रकारहरूको सूचनामा पहुँच सिमित भएको उनको आरोप छ । उनले सिंहदरबारमा मन्त्रालयसम्म पत्रकार पुग्ने सामथ्र्य भएपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटसम्म पनि पत्रकारहरू जान नपाउने अवस्था रहेको जिकिर गरिन् । संसदीय समितिहरूमा पनि पत्रकारहरू सहज रूपमा प्रवेश गर्नसक्ने अवस्था नरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । अध्यक्ष शर्माले सरकारले आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाइन् ।
अध्यक्ष शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अन्तर्गत सूचना माग्ने, सूचना प्राप्त गर्ने तथा तथ्यको परीक्षण र यकिन गरेर मात्रै समाचार वा सामग्री प्रकाशन तथा प्रशारण गर्ने अधिकार परेपनि सरकार संविधानअनुसार प्रेस स्वतन्त्रताको पक्षमा नदेखिएको बताइन् ।
प्रकाशित मिति २०८३ असार २१ गते आइतबार ११:३७




