२०८३ साउन २१ गते बिहीबार

मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ

मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार २१ गते आइतबार ०१:४०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जान श्रेष्ठले आगामी मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा रहेको बताएका छन् । आईतवार प्रतिनिधि सभाको अर्थसमितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उनले अर्थतन्त्र...

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जान श्रेष्ठले आगामी मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा रहेको बताएका छन् ।

आईतवार प्रतिनिधि सभाको अर्थसमितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उनले अर्थतन्त्र सुधारको लागि बजेटले सम्बोधन गर्न नसकेका विषयलाई समेटेर मौद्रिक नीति ल्याउनुपर्ने बताएका हुन् । बजेटले केही विषय सम्बोधन गरेपनि निजी क्षेत्रका बाँकी मागहरु मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने उनको भनाई छ । अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीतिमार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उनले बताए । विगतका मौद्रिक नीतिले व्यवसायीलाई राहत दिएको स्मरण गराउँदै उनले यसपटक पनि उत्पादन, लगानी र रोजगारी प्रवद्र्धन गर्ने नीति आउनुपर्नेमा जोड दिए । उनले देशमा नै रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताए । रोजगार सिर्जना गर्न नसकेको आरोप राज्य र निजी क्षेत्र दुवैले खेपिरहेको उनको भनाई छ । यद्यपि नेपालमा कुल रोजगारीको करिब ८६ प्रतिशत योगदान निजी क्षेत्रले दिएको उनको दाबी छ । उनले राज्यले उद्योग र उत्पादनमूलक क्षेत्रमा आवश्यक सहयोग गर्न नसकेको कारण नेपालमा आयात बढिरहेको बताए । नेपालले हाल करिब ७० प्रतिशत वस्तु आयात गरिरहेको उनको भनाई छ । उनले ३० प्रतिशत मात्रै स्वदेशमै उत्पादन भइरहेको जानकारी दिए । उनले अब ७० प्रतिशत वस्तु नेपालमा नै उत्पादन हुनेगरी राज्यले सोच्नुपर्ने बताए । पेट्रोलियम बाहेकका धेरै वस्तु देशभित्रै उत्पादन गर्न सकिने सम्भावना रहेको उनको भनाई छ ।

उनले उद्योग विस्तार र स्वदेशी उत्पादन वृद्धि गर्न सकेमा अर्थतन्त्रको स्वरूप नै परिवर्तन हुने दाबी गरे । उनले व्यवसाय सञ्चालनका लागि बैंकबाट ऋण लिन जग्गा धितो राख्नुपर्ने बाध्यता रहेकाले निजी क्षेत्र जग्गामै लगानी गर्न बाध्य भएको बताए । निजी क्षेत्रलाई सिर्जनशील र नवप्रवर्तनमुखी बन्नुपर्ने चुनौती रहेको स्वीकार गर्दै अध्यक्ष श्रेष्ठले त्यसका लागि स्थिर नीति, स्पष्ट नियत र लगानीमैत्री वातावरण आवश्यक पर्ने बताए । उनले राज्यको नीतिगत अस्थिरता र बारम्बार हुने नीति परिवर्तनले निजी क्षेत्र समस्यामा परेको उल्लेख गरे । उनले हाल कर्जा प्रवाह बढाउने गरी मौद्रिक निती ल्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति २०८३ असार २१ गते आइतबार ०१:४०
हजुरको प्रतिक्रिया